आत्म ग्लानी भयो,

Monk's Blog
3 min readJul 7, 2021

मुलुकी ऐन १९१० हेरें…..

यसको ६१ र ६२ भागमा ‘पादन्या र थुकन्या’ कसुर सम्बन्धि दण्ड ब्यबस्था रहेछ। पहिला त हांसो लाग्यो, यो कस्तो ‘पादन्या र थुकन्या’ विषयमा पनि कानुन लेखिएको होला भनेर। गहिरेिएर यी भागहरु हेरें, मेरो हांसो ग्लानीमा परिणत भयो। कसैको मुखमा कसैले ‘पाद्छ या थुक्छ’ भने पनि पिडितको जातको आधारमा दण्ड व्यवस्था गरिएको रहेछ। पिडित कथित उपल्लो जातको भए पिडकले धेरै सजाय भोग्नु पर्ने रहेछ, र पिडित कथित तल्लो जातको भए पिडकले कम सजाय भोग्ने पर्ने रहेछ। जस्तै उपल्लो जातका पिडितलाई पानि नचल्ले जातका पिडकले मुखमा ‘पाधे’ २० रु दन्ड गरिने, तर तेहि कसुर उपल्लो जातकाले तल्लाजातका माथि गरे भने ५ रु मात्र दण्ड गरिने ब्यबस्था रहेछ। पिडक र पिडितको जात अनुसार एउटै कसुरको सजाय पनि भिन्न हुंदै कसैले रु ५, सकैले रु १०, सकैले रु १५ त कसैले रु २० सम्म दण्ड सजाय हुने रहेछ। । मुलुकी ऐेन १९१०का अन्य भाग हेरें, कुटपिट, गाली, कसैको मुखमा नाल-नरक(गुहु, मुत, विर्य, रजश्वलाको रगत ) हाल्ने, जस्ता कसुरमा पनि जात अनुसारको दण्ड व्यवस्था रहेछ। यसको अर्थ तेतिवेला देखि नै कथित तल्लो जातका मानिसहरुको जीवन कति सस्तो र अपहेलित रहेछ समाजमा र कानुनले नै यस्ता विभेद र अपहेलनाको संरक्षण र संवर्धन गरेको रहेछन्।

जातको आधारमा पूर्वाग्रही रहेका यस्ता कानुन बमोजिम फैसला हुंदा दण्ड-सजाय पनि पूर्वाग्रही नै हुने भए। कति अन्याय र अपनमान सहनु पर्यो होला कथित तल्लोजातका मानिसहरुले। जन्मे देखि नै आफू तल्लो भन्ने मानसिकता बोक्न बाध्य, केहि भै हाल्छ कि?, दण्ड दिई हाल्छन् कि? भन्ने त्रासमा बांच्नु पर्ने। त्यो आत्मअपानको वोध कति पिडादाई रह्यो होला। यी कुरा सोच्दै गर्दा आत्म ग्लानी भएर आयो आज।

पश्चिमा देशमा तेताको धर्म-दर्शनमा निर्देशित भएर पहिलेका शासकहरुले गरेका काला तथा आदिवासिहरु माथि गरेको क्रुर र अमानविय कृत्यका लागी माफी माग्ने राम्रो सुरुवात भएको पाइन्छ पछिल्ला समयमा। क्याथलिक चर्चको निर्देशनमा त्याहांका आदिवासिका वच्चाहरुलाई परिवार वाट छुट्टाई अल्ग्गै राखेर पढाउने गरिएकोमा धेरै वच्चाहरु हराएका थिए। उनीहरुको समुहिक चिहान फेला पारे पछि क्यानडाका प्रधानमन्त्रिले हालै माफि मागेका छन् , पहिला गरिएका यस्ता जातिय नरसंहार र अमानविय व्यावहार माथी। माफी मात्र माग्नु निकै हल्का हुन सक्छ यस्ता अमानविय प्रचलनका लागी, पूर्वीय परम्परा अनुसार यस्ता क्रुर र अमानविय कृत्यमा पश्चाताप गर्ने चलन थियो।

जातिय विभेद दक्षिण एसियामा अहिले सम्म पनि छ, पहिला भन्दा कम भए पनि अझै छ। धेरैले भन्ने गर्छनः ‘समयले परिवर्तन ल्याउंछ, परिवर्तनका लागि समय लाग्छ।’ समय आफैमा केहि हुंदैन, कुनै परिवर्तनका सुरु र अन्तको विचको काललाई हामीले ‘समय’ भनेका मात्र हौं। त्यस कारण परिवर्तन स्वतह हुंदैन, कसैले परिवर्तनका लागि पहल गर्नु पर्छ, ठूला परिवर्तनका लागी आभियान र आन्दोलन हुनु पर्छ।

मलाई लागी रहेको छः

१) ‘मैले त बुझेको छु’ भनेर बसें, हजुरवा हजुरआमा, वा-आमाका पुस्तालाई ‘पुराना जमानाका मान्छे हुन्, बुझ्दैनन्’ भनेर बसी रहें, वहांहरुलाई बुझाउने प्रयास गरिन भन्ने पश्चाताप लागी रहेको छ आज।

२) धर्म -ग्रन्थहरुमा उल्लेखित विभेदहरुलाई ‘तेतिवेलाको समाजिक संरचना या कर्मले जात बनाउछ’ भनेर बसिरहें, तिनका बिरुद्धमा किन पहिला देखिनै बोलिन-लेखिन भनेर पश्चाताप लागी रहेको छ आज।

३) ‘मैले त विभेद गरेको छैन’ भनेर बसिरहें, तर समाजमा रहेको जातिय विभेदलाई रोक्ने प्रयास गरिन भनेर पश्चाताप लागी रहेको छ आज।

४) ‘मलाई यो जातिय विभेदले खासै असर पारेको छैन’ भनेर बसीरहें, समाजमा विध्यमान जातिय विभेदलाई अन्त गर्न खासै पहल गरिन। ब्यक्तिवादी वनेर वांचि रहें, सामाजीक प्राणी बन्न नसकेकोमा पश्चाताप लागी रहेको छ आज।

५) ‘आफूले अन्याय पनि गरेको छैन, आफू अन्यमा परेको पनि छैन’ भनेर बसिरहें, दलित समुदायको उत्थान र सम्मान स्थापना गराउनका लागि सरकारलाई थप निति, कानुन र कार्यक्रम लागु गर् भनेर आवाज नउठाएकोमा पश्चाताप लागी रहेको छ आज।

यसरी ‘मैले त बुझेकु छु’ या ‘मैले त विभेद गरेको छैन’ भनेर बुझेकाहरुले आफ्नो सामाजिक दाइत्ववाट पञ्छिनु निकै ‘घाती’ सिद्ध भएको छ समाज र देशका लागि, मानवियताका लागि। नबुझ्नेले त नबुझेर विभेद गर्यो, बुझ्नेले नबुझेकालाई बुझाउनु पर्दैन? दियो बालेकाले अन्धकारमा रहेकालाई प्रकाश देखाउनु पर्दैन? उनीहरुको दियो पनि बालिदिनु पर्दैन? ‘आफूले अन्याय पनि गरेको छैन, आफू अन्यमा परेको पनि छैन’ भनेर सामाजीक दाइत्ववाट पञ्छिन मिल्छ र?, चुप लागेर बस्न मिल्छ र? समाजमा समस्या छ भने त्यो सामाजीक समस्या हो, सबैले समाजिक दाइत्व निभाउनु पर्छ। ब्यक्तिवादी भएर मौन बस्नु कदापि सहि होइन।

भिक्षु कश्यप

--

--