के बौद्ध दर्शनमा पनि वर्णव्यबस्था छ?

Monk's Blog
19 min readJun 29, 2021

नेपाल लगायत दक्षिण एसियाइ समाजमा वर्णब्यबस्था निकै लामो समयदेखि चलिआएको कुरा हिन्दु, बौद्ध, जैन ग्रन्थहरुवाट सजिलै अनुमान लागउन सकिन्छ। कहिले देखि स्थान पाए यस्ता विभेदकारी कुराहरुले सास्त्रहरुमा स्थान ? के सुरु देखि नै थिए या पछि थपिएका हुन्?

ब्राम्हण, क्षत्रीय, वैश्य र शुद्र यी चार वर्णको समूह, गुण र कर्महरुलाई विभागपूर्वक म द्वारा रचना गरिएको हो (भगवत गीता ४-१३)। हे अर्जुन ! स्त्री, वैश्य, शूद्र तथा पापयोनि- चाण्डालादि जो कोई पनि मेरो शरण आएर परमगति नै प्राप्त हुन्छन्(भगवत गीता ९-३२)। यसरी हिन्दु धर्ममा वर्णबयबस्था ईश्वरले नै खडागरेको र ईस्वरको शरणमा गए, जो जस्तो भएपनि, सबैको मुक्ति हुने मानिएको छ।

हिन्दुधर्म शास्त्रहरुमा आएका वर्णाश्रमको कुरा नौला होइनन् नेपाली समाजका लागि। मनुवाद भनेर मनुस्मृतिको कुरा वारम्वार आउने गर्छ जातिय विभेदको कुरा उठ्दा। अन्य हिन्दु ग्रन्थमा पनि जातिविभेदका कुरा आएका छन् जस्तैः देव यज्ञ र श्राद्धमा शूद्रलाई बोलाउनेलाई १०० पर्ण दण्ड दिनु(विष्णु स्मृति ५-११५)। शूद्र केवल अरुको सेवक हो यसको अतिरिक्त उसलाई कुनै अधिकार छैन (एतरेय ब्राम्हण २-२९-४)। शूद्रको प्रमुख कार्य तीनै वर्णको सेवा गर्नु हो (महाभारत ४-५०-६)। ढोल, गवार, शूद्र, पशु, नारी, सकल ताड़ना को अधिकारी (रामचरित मानस ५९-५)। यदि कोहि ब्राम्हण शूद्रलाई शिक्षा दिन्छ भने उस ब्राम्हणलाई चान्डाल सरह त्याग दिनु पर्छ (स्कंद पुराण १०-१९)।

यसरी महिला, बेश्या र शुद्र जन्मदा नै पापी बनाएर, पशु सरह ब्यवहार गरी मानवियताको नैअपमान हुने खालका यस्ता अनेकौं वाक्यहरु हिन्दु पुराण, स्मृति, शुत्र र मानसहरुमा उल्लेख भएको कुरा हामीले सुनीराखेकै हो। तर हिन्दु धर्म वाहेक अन्य पूर्वीय दर्शनमा वर्ण व्यबस्था कस्तो छ त, खासगरीकन जैन र बौद्ध धर्ममा? यस विषयमा हेरौं।

जैन धर्ममा वर्ण ब्यबस्था

जैन धर्मका अनुसार चक्रब्रति राजा भरतको पालामा जैन तिर्थङ्कर भगवान ऋषभदेवले वर्ण व्यबस्थाको सुरुवात गरे भनिएको छ।
(जैन ग्रन्थ हरिवंशपुराण ९, ३३-३९) कल्पवृक्षको लोप भएका कारण भगवान् ॠषभदेवले प्रजालाईअसि मसि आदि षट्कर्महरुको उपदेश दिए। यी उपदेशलाई सिकेर ज्ञानीहरुले नगर ग्राम आदिको रचना गरे । त्यसै समय क्षत्रिय, वैश्य र शुद्र यी तीन वर्ण पनि उत्पन्न(स्थापना) भए। विनाशवाट जीवहरुको रक्षा गरेका कारण क्षत्रिय, वाणिज्य व्यापार गरेका वैश्य र शिल्पकारहरु शूद्र कहलाइए ।
(जैन ग्रन्थ महापुराण १६, १८४-१८७) यसमा पनि शूद्र दुइ प्रकारका भएः कारू र अकारू । कारू थपदुई भागमा विभाजन गरिएः स्पृश्य (धोवि, नाई आदि)र अस्पृश्य (चाण्डाल आदि)। तिन वर्ण थिए पहिला, पछि राजा भरतले ब्राम्हण वर्ण थपेको कुरा जैन ग्रन्थमा उल्लेख छ। यी सवै वर्णका मानिस आ- आफ्नो निश्चित आजीविका छोड़ेर अन्य वर्णकाआजीविका गर्न पाउंदैनन् । सुरुमा सबै वर्णले मुनि-दिक्षा(जैन सन्यास लिने प्रकृया) लिन पाउने भए पनि ७-८औं सतब्दि सम्म आइपग्दा रोगि, भयार्त(भयभित या कमजोर), नपुंशक र शुद्रलाई मुनी-दिक्षा निषेध गरियो। यो स्थिति वड्दै गएर पानी नचल्ने, जैन मन्दिरमा प्रवेश निषेध र छोइछिटो गर्न थालियो शुद्रहरु संग। यसरि जैन धर्ममा जातजातिका आधारमा छुवाछुत गर्ने, विभेद गर्ने कुरा पछि थपिएको देखिन्छ।
जैन मान्यता अनुसार गोत्रकर्मको उदयवाट जीवहरु ऊँच या नीच कुलमा जन्म लिन्छन्, अथवा उनीहरुमा ऊँच या नीचकुल संस्कार(पूर्वजन्मको कर्मर फल) को प्रतीति हुन्छ । यही गोत्रकर्म (पूर्व जन्मको यस्तो कर्म जस्ले आउनेवाला जन्म निर्धारण गर्छ)कारण ब्राह्मण, क्षत्रिय आदि चार प्रकारका वर्ण व्यवस्था हुन्छ। यसरी जैन धर्मको वर्णव्यबस्थाको अवधारणा बौद्ध वर्ण व्यास्थासंग निकै मिल्दो जुल्दो छ।

अव हेरौं बौद्ध ग्रन्थहरुमा वर्ण व्याबस्था कस्तो छ तः

बौद्ध धर्ममा वर्ण ब्यबस्था

दिघ निकायकोअग्गञ्ञ-सुत्त (३।४)मा प्रलय पछ‍ि सुरु भएको चक्रवाल(ब्रमाण्डमा) कसरी सत्व (प्राणी)को जीवन चक्र सुरु भयो र वर्ण व्यबस्थाको पनि सुरुवात भयो भनेर विस्तारमा बताइएको छ।

मनुष्य जातीको उदय

एक पटक भगवान बुद्ध मिगार माताको पुब्बराममा हुंदा वसेट्ठ र भारद्वाज नामक ब्राम्हण भगवानसगं प्रब्रज्या (सन्यास भइ भिक्षु हुने)लिने इच्छाले बुद्धको नजिक जान्छन्। बुद्धलाई अभिवादन गरेर आफ्नो भिक्षु हुने इच्छा जाहेर गर्छन्। तर बुद्धले सोध्छन्ः -’वासेट्ठ ! तिमी त ब्राम्हण जाती र ब्राम्हाण कुलको हौ, घरबाट बेघर भएर प्रब्रजित हुन चाहान्छौ । वासेट्ठ ! के ब्राम्हाणहरुले निन्दा गर्दैनन, हाँसो उडाउदैनन ?’

वासेट्ठः ‘हो भगवान ! तिनीहरु हाम्रो हाँसो उडाउछन, निन्दा गर्दै भन्छन कि ब्राम्हण नै श्रेष्ठ वर्ण हो, अन्य वर्ण हिन हो, ब्राम्हण नै ब्रम्हाको मुखबाट उत्पन्न भएको हो, ब्रम्हाका दायद(उत्तराधिकारी) हुन । तिमीहरु श्रेष्ठ वर्णबाट झरेर निच भयौ । यो मुण्डन श्रमण, निच, कृष्ण, भ्रष्ट र ब्रम्हाका खुट्टाबाट उत्पन्न भएको हो भन्छन्।’

बुद्ध: ‘वासेट्ठ ! यी ब्राम्हाणहरु पुराना कुरालाई भुलेर यस्तो भन्छन-ब्राम्हण नै श्रेष्ठ वर्ण, अन्य हिन।वासेट्ठ ! ब्राम्हणका स्त्रीहरु ऋतुमती भएको देखिन्छन्, गर्भिणी हुन्छन्, बच्चालाई जन्माउछन्, बच्चालाई दूध पिलाउछन्। तव तिनीहरु ब्रम्हाको मुखवाट उत्पत्ति भएको कसरी भन्न सक्छन्?’

यसरी बुद्धले ब्राम्हाण, क्षत्रिय, वैश्य र शुद्र ब्रम्हाको क्रमश मुख, हात, पेट र गोडावाट उत्पत्ति भएको कुरा झुटो हो भनेर नकारेका छन्।

बुद्ध अगाडि भन्छन् वासेट्ठलाईः ‘वासेट्ठ ! क्षत्रीय, ब्राम्हण, वैश्य, शुद्र चार वर्ण छ । क्षत्रीयमा पनि धेरैले जीव हिंसा गर्दछ, चोरी गर्दछ, झुठो बोल्दछ, मिथ्या दृष्टि वाला हुन्छन् । वासेट्ठ ! यस प्रकार उ जुन खराब/अकुशल धर्म, सदोष, असेवनिय, अनार्य, कृष्ण, कृष्णबिपाक ( खराब फल वाला ), बिद्धान जनबाट निन्दित छ त्यसलाई गर्दै गरेको देख्न सकिन्छ । यस्तै प्रकारले ब्राम्हाणमा पनि धेरैले अकुशल कर्म………यस्तै प्रकार वैश्यमा पनि धेरैले अकुशल कर्म ………त्यस्तै नै शुद्रमा पनि………….।’

‘वासेट्ठ ! धेरै क्षत्रीय, ब्राम्हण, वैश्य, शुद्र कुशल कर्मलाई गर्दै अकुशल कर्महरु चोरी, झुठ, चुकली, हिंसा आदिबाट बिरत रहेको पनि देखिन्छ ।तब वासेट्ठ ! यी चारै बर्णमा दुबै किसिमको मनुष्यलाई पाइन्छ, अकुशल धर्म गर्ने र कुशल धर्म गर्ने। अब ब्राम्हण कसरी भन्छौ कि ब्राम्हण नै श्रेष्ठ हो अरु हिन ………। तर बिद्धान जन यस्तो मान्दैनन, सो किन ? यसै चार बर्णमा जुन भिक्खु अर्हन्त, क्षीणस्राब, ब्रम्हाचारी, परमार्थ प्राप्त, भव बन्धनबाट मुक्त, ज्ञानि र बिमुक्त हुन्छ । उ सबैभन्दा अगाडी बढछ, उच्च हुन्छ, धर्म गरेर, अधर्म गरेर होइन । वासेट्ठ ! मनुष्यमा धर्म(कुशल कर्म) नै श्रेष्ठ हो, यस जन्ममा पनि पर जन्ममा पनि ।’

यसरी बुद्धले चार वर्ण भने हुने स्विकार गरेका छन् चाहे त्यो कर्मको आधारमा नै किन नहोस्। अव यहां कर्मको आधारमा वर्ण ब्यबस्था भनेको के हो त्यसलाई अलि ध्यान पुर्याएर हेर्नु पर्छ।

मानवजातिको विकास, प्रलयपछी सृष्टि

बौद्ध मान्यता अनुसार ३१ लोकहरुछन् यस चक्रवालमा। जस्मा ४ अपाय(नरक, प्रेत, पशु र राक्षशलोक), मनुस्य लोक, ६ देवलोक, १६ रुप ब्रमहलोक, ४ अरुप ब्रम्हलोक। प्राणी आफ्नो कर्म अनुसार यी ३१ लोक-चक्रमा घुमीरहनु पर्ने हुन्छ जव सम्म निर्वाण प्राप्ती हुंदैन। लामो काल अन्तरमा चक्रवालको संबर्त (प्रलय)र विवर्त(विकास) भइ रहन्छ। यसमा संबर्तको बेला ३१ लोक मध्ये धेरै लोक प्रणाली जस्तै मनुस्यलोक या पशुलोकमा प्राणिहरु जीवित रहन नमिल्ने गरी नाश हुन्छ।

अब बुद्ध वासेट्ठ ब्राम्हणलाई प्रलय पछिको मानव विकासको वारेमा वताउंछन्।

‘वासेट्ठ ! धेरै दिन बितेपछी एक समय आउनेछ । जब यो लोक ( ब्रम्हाण्ड ) को संवर्त (प्रलय, विनाश) हुनेछ । प्रलय हुँदाखेरी अधिक्तर प्राणी (सत्व) आभास्वर ब्रम्हलोकमा वांकि रहन्छन् । उनीहरु त्यहाँ मनोमय, प्रीतिभक्ष, स्वयंप्रभ, आकाशचारी, शुभस्थायी भएर धेरै दिनसम्म रहन्छन् । धेरै दिनहरु बितेपछी एक समय आउनेछ जब लोकको विवर्त (क्रमशः विकास हुनु) हुन्छ । विवर्त हुँदा अनेक सत्व आभासार लोकबाट च्युत (पुण्य कर्मको फल भोग्ने समय सकिए पछि तल्लो लोकमा झर्नु)भएर यहाँ(मनुस्य लोकमा) आउँछन । तिनीहरु यहाँ मनोमय (स्थुल सरिर धारण नगरेको), प्रीतिभक्ष (गहिरो समाधिमा प्राप्त हुने असिम आनन्नदको भोजन), आकाशचारी, स्वयंप्रभ, सुभस्थायी भएर धेरै दिनसम्म रहन्छन् । त्यस समय हरेक ठाउँमा पानी नै पानी हुन्छ । धेरै अन्धकार हुन्छ, न चन्द्रमा, न घाम, न नक्षत्र, तारा पनि देखिने छैन । न महीना, न पक्ष थाहै हुँदैन । न ऋतु, न वर्षा, न स्त्री, न पुरुष थाहा पाइन्न । सत्व(प्राणि) हो सत्व हो केवल यही सज्ञा(थाहा) हुन्छ उनीहरुलाई ।’

सत्वको आरम्भीक आहार

बुद्ध अगाडि भन्छन्ः ‘तब वासेट्ठ ! धेरै दिन बितेपछी ती सत्वका लागी पानीमा गरम दूध चिसो भए समान, खिर जमे जस्तै रस पृथ्वीमा फैलियो । त्यो वर्ण सम्पन्न, गन्ध सम्पन्न, रस सम्पन्न थियोे । जस्तो कि मक्खन घिउले सम्पन्न थियोे, जस्तो कि शुद्ध मह हुन्छ त्यस्तै त्यसको स्वाद थियोे । तब कुनै लालची सत्व ! अरे यो के हो ? सोची रसलाई औंलाले चाटन थाले, चाटदा उसमा तृष्णा उत्पन्न भयो, दोस्रो सत्वले पनि उसको देखासीखि गरेर रसलाई चाटन थाले, उसलाई पनि तृष्णा उत्पन्न भयो । तब त्यो सत्व रसलाई हातले कोतारी-कोतारी खान थाले । खानाले ती सत्वको स्वाभाविक प्रभा(प्रकास) अन्तध्यार्न भयो । तब घाम, चन्द्रमा, नक्षत्र-तारा मण्डल प्रकट भयो । रातदिन थाहा हुन थाल्यो । मास पक्ष थाहा हुन थाल्यो, ऋतु वर्षा थाहा हुन थाल्यो । वासेट्ठ ! यस प्रकारले फेरि लोकको विवर्त (भवको विकास) भयो।’

‘ती सत्वले रसलाई धेरै दिनसम्म खानाले उनीहरुको शरीर कर्कश(कठोर, स्थुल) हुन थाल्यो र उनीहरुको वर्णमा बिकार आउन थाल्यो । कुनै सत्व सुन्दर थिए त कुनै सत्व कुरुप अर्थात जो जति समयबाट रसा खाइ रहेको थियोे उ त्यति नै दुवर्ण भयो । जुन सत्व सुन्दर थिए उनीहरु आफुलाई कुरुप सत्वभन्दा उच्च सम्झिन थाले, उसको आफ्नो बर्णको अभिमानले त्यो रस(भोजन) अन्तध्यार्न भयो । रस अन्तध्यार्न हुनाले ती सत्वहरु भेला भएर चिच्याउनु थाले: अहो ! रस (मिठो थियो), अहो ! रस (मिठो थियो), अहो ! ………………त्यसैले आजपनि जब मनुष्यले केही सुरस (मिठो)चिज पिउछ तब भन्न थाल्छ……:-अहो ! रस……यिनीहरु त्यसै पुरानो शब्दलाई रटछन्, याद गर्छन तर त्यसको अर्थलाई जान्दैनन।’

यसरी चित्तमा तृष्णारुपि विकार उत्पन्न भए पछि मनुस्य अधम बन्दै गएको तर्क गरिएको छ यहां।

बुद्ध अगाडि भन्छन्ः ‘तब वासेट्ठ ! रसा पृथ्वी अन्तध्यार्न भएपछि अहिच्छत्रक (नागफनी) जस्तो भूमिमा वर्ण-गन्ध-रस-सम्पन्न पापड उत्पन्न भयो । त्यसलाई सत्वहरुले खान थाले, त्यसलाई खाइ रहनाले उनीहरुको शरीर अरु कर्कस हुँदै गयो, उनीहरुको वर्णमा अरु पनि बिकार आउन थाल्यो । धेरै खाने वडि कुरुप भए, जो कम कुरुप रहे उणिहरुमा बर्णको अभिमान आयो, उचा निचाको भेद सुरु भए पछि त्यो पापड पनि अन्तध्यार्न भयो । तब भद्दलता ( भद्रलता, स्वादिष्टलता) प्रकट भयो । त्यसलाई खाइ रहनाले रुप वर्ण अरु धेरै बिकार हुन थाल्यो’……(माथिकै क्रम पुनरुक्ति)।

स्त्री र पुरुषको भेद

बुद्धः ‘तब उनीहरुको भद्दलता अन्तध्यार्न भएपछि नरोपी, भुष नभएको अकृष्ट-पच्य (बिना रोपेर, विना जोतेर) धान उत्पन्न भयो, जो निकै स्वादिष्ट थियो। जसलाई उनीहरु साँझको लागी साझमा ल्याउथे भने बिहानका लागी त्यो काटिएको धान पाकेर तयार हुन्थ्यो, काटेको भनेर थाहा नै हुँदैन थियोे । तब त्यस आकृष्ट-पच्य सालीलाई खाएर उनीहरुको सरिरअरु कर्कस हुन थाल्यो । वर्ण बिकार हुन थाल्यो ।’

‘पहिलोपटक कुनै सत्वले दोस्रो सत्वलाई टकटकी रागयुक्त चित्तले हेरे र फेरि अर्कोले पनि हेर्न थाल्यो ……….यस प्रकार रागयुक्त चित्तका कारण स्त्री-पुरुष यौनांग ती सत्वमा उत्पन्न भयो (काम वासनलगायत तृष्णालाई ध्यान द्वारा जितेर ब्रम्हलोकमा जन्म भएका सत्वहरुको स्त्री पुरुष छुट्टिने यौन अंग हुदैन, ब्रम्हाहरु नपुंशक हुन्छन्, सरिर पनि शुक्ष्म सरिर मात्र हुन्छ भन्ने मान्यता छ)। स्त्री पुरुष पटक पटक एकले अर्कोलाई टकटकी हेर्न थाले, रागका कारण एक अर्काको शरीरमा कामको अग्नि बल्न थाल्यो । दाहका कारणले उनीहरुले मौथुन कर्म गरे ।’

‘वासेट्ठ ! त्यस समयमा जसलाई लोकले मैथुन कर्म गरेको देख्थ्यो उनीहरु माथी कसैले धुलो फ्याक्थे, कसैले हिलो फ्याक्थे र कसैले गोवर फ्याक्थे, जे जसको हातमा हुन्थ्यो त्यो फ्याक्थे: हट, भाग वृषल(दुष्ट ब्यक्ति या निच ब्याक्ति या शुद्र ब्यक्ति) ! हट वृषल ! कसरी एक सत्व दोस्रो सत्वका साथमा यस्तो गर्न सक्छ ! सो आज पनि लोकमा कुनै ठाउँमा नयाँ दुलहीलाई लैजाने समयमा फुल फ्याक्छन्, चामल फ्याक्छन्, रंग फ्याक्छन् । यो त्यस पुरानो प्रथाको कारण, संस्कारको कारणले यस्तो गर्दछन तर त्यसको अर्थलाई जान्दैनन्।’

‘वासेट्ठ ! त्यस समयमा जुन मैथुनलाई अधर्म मानिन्थ्यो त्यसलाई अब धर्म सम्झिन थालीएको छ। जुन सत्व त्यस समयमा मैथुन कर्म गर्थे, उनी तीन महिनासम्म, यस दुई महिना गाउँ या निगममा आउन पाउदैन थिए । त्यस समय पटक पटक पतित भएकाहरुले यी अधर्मलाई लुकाउनका लागी घर बनाउन सुरु गरे।’

यसरी मानिसले घर बनाउनुको कारण आफ्नो मैथुन कुकर्म लुकाउन भनिएको छ।

ब्याक्तीगत सम्पत्तीको आरम्भ

बुद्धः ‘वासेट्ठ ! तब कुनै अल्छि सत्वको मनमा यस्तो भयो कि बिहान-बेलुका दुई समयमा धान ल्याउने दु:ख किन गर्ने ? ल्याउदा एकैपटकमा बिहान-बेलुकाको लागी शालि काटेर ल्याउछु । उसले विहान वेलुकिका लागी धान जम्मा गर्छ।तब उसको देखासिखी गरेर त्यस सत्वले पनि दुइ समयका लागी साली लिएर आयो । फेरि अन्य सत्वले पनि एक अर्काको नक्कल गरेर दुई समयका लागी…….चार दिन, आठ दिनका लागी एकैपटकमा साली ल्याउन थाले ।’

‘वासेट्ठ ! तब ती सत्वहरु भेला भएर चिच्याउनु थाले: “हामी प्राणीहरुमा पापधर्म प्रकट भइरहेको छ । हामीहरु मनोमय थियौ, धेरै दिर्घकालसम्म जिउथ्यौ । धेरै दिन बितेपछी रसा पृथ्वी आयो, पापड आयो, भद्दलता आयो, अहिले साली आयो र हामीमा पापधर्म प्रकट भइ रहेको छ । आउ ! हामी सालीको खेत बाडौ, सिमा-आलि बाधौ । तब तिनीहरुले साली बाडे, खेत बाधे ।’

‘वासेट्ठ ! तब कुनै लालची सत्व आफ्नो भागको रक्षा गर्दागर्दै अरुको भाग चोरेर खायो । उसलाई लोकले पक्रिए र भने:-हे सत्व ! तिमी यो पापकर्म गर्दैछौ जुन अरुको भाग चोरेर खाइ रहेको छौ । अब कहिल्यै यस्तो नगर्नु ।’

‘धेरै पटक संझाउदा पनि उसले पटक पटक चोरेर खान थाल्यो । तब कसैले हातले, कसैले लठ्ठीले हिर्काउन थाले । वासेट्ठ ! त्यही समयदेखि चोरी, निन्दा, मिथ्या भाषण र दण्डकर्म हुन थाल्यो । तब ती प्राणीहरु भेला भएर भन्न थाले:-”हामी प्राणीहरुमा पापधर्म प्रकट भइरहेको छ । जो कोहीले यस्तो गर्छ उसको निन्दा गर्न, दण्ड दिनका लागी कुनै धार्मिक सत्वलाई नियुक्त गरौ । हामीहरु उसलाई आफ्नो सालीको भाग(कर) दिन्छौं ।’

चार बर्गको निर्माण

‘वासेट्ठ ! तिनीहरुले उनीहरु मध्ये जुन सत्व वर्णवान, सुन्दर, प्रासादिक, बलवान् तथा महाशक्तिसाली थिए उ भएको ठाउँमा गएर भने:-”हे सत्व ! उचित र अनुचितलाई राम्रोसँग अनुसासन गर, निन्दनीय र पापधर्मलाई निन्दा र दण्डित गर, हामी तिमिलाई सालिको भाग(कर) दिन्छौं । धेरै राम्रो भनेर त्यो सत्वले स्वीकार गर्यो । उ राम्रोसँग उचित अनुचितलाई अनुसासन गर्दथ्यो । लोकले उसलाई आफ्नो सालिको भाग दिन्थे । वासेट्ठ ! महा जनसमुहद्वारा सम्मत हुनाले “महासम्मत……महासम्मत……” भनेर उसको पहिलो नाम महासम्मत भयो ।’

‘खेत्त (क्षेत्र) का अधिपति हुनाले खत्तिय (क्षत्रीय) भनेर दोस्रो नाम क्षत्रीय भयो । धर्मले (बिधीका अनुशासनले ) अरुको रञ्नजा गर्थ्यो । अत: राजा राजा भनी तेस्रो नाम राजा भयो ।’

ब्राम्हणको उत्पत्ती

ती प्राणीहरु मध्ये कसै-कसैको मनमा यस्तो भयो कि प्राणीमा पापधर्म उत्पन्न भइरहेको छ जस्तैः कि चोरी, झुठ । अत: तिनीहरुले पापधर्मलाई छोडि (बगाई)दिए । वासेट्ठ ! पापधर्मलाई छोडेका (बगाएका)कारणले ब्रम्हण, ब्राम्हण भनेर उसको पहिलो नाम भयो । उनीहरु जंगलमा पर्णकुटी बनाएर बस्न थाले, र त्यहीं ध्यान गर्न थाले । उसका साथमा न कोइला थियोे, न मुस्ली थियोे, तिनीहरु साझका भोजनका लागी गाउँ निगममा जान्थे र बिहानका भोजनका लागी बिहानै । भोजन गरेर फेरि जंगलमा आइ आफ्नै कुटिमा ध्यान गर्थे । उनीहरुलाई देखेर मनुष्यले भने ‘ध्यान गर्दछ, ध्यान गर्दछ’ तब उसको दोस्रो नाम ध्यायक भयो । त्यही सत्वहरु मध्ये केहीले ध्यान पूरा गर्न सकेनन् र फरि ग्राम तथा निगममा आएर बस्न थाले, साथै पापकर्मबाट टाढा बस्ने कुरालाई रटि रहे, वाचन गर्न थाले र ग्रन्थ बनाउन थाले । तिनीहरुलाई देखेर मनुष्यले भन्न थाले ग्रन्थ बनाउछन ध्यान गर्दैनन ‘अध्यायक ( nonmeditator ), यो तेस्रो नाम रहर्यो । वासेट्ठ ! त्यस समयमा यसलाई निच मानिन्थ्यो किन्तु आज त्यसैलाई श्रेष्ठ मानिन्छ । यस प्रकार आज अध्यायक स्वयं नै पापधर्मबाट टाढा बस्ने नियमलाई याद गर्दैनन, आज उसले नै यस नियमलाई पालना गर्दैनन र अन्यलाई पढाउनाले अध्यायक नाम रहर्यो ।’

वेस्स/ वैश्यको उत्पत्ती

‘वासेट्ठ ! तिनै प्राणीहरुमा कति चाहिँ मैथुन कर्म गरेर नाना कुकार्ममा लागे । वासेट्ठ ! मैथुन कर्म गरेर नाना कुकर्मले वसिभुत हुनाले ‘वेस्स वेस्स ( वैश्य वैश्य )’ भनेर वैश्य नाम रहर्यो । ।

छुद्ध ( शुद्र ) को उत्पत्ती

वासेट्ठ ! तिनै प्राणीहरुमा जो छुद्द ( क्षुद्र ) आचार वाला जुन प्राणी थिए । उसलाई छुद्द छुद्द भनेर यो क्षुद्र(शुद्र) नाम रहन गयो ।

समण ( श्रमण ) को उत्पत्ती

वासेट्ठ ! एक समय थियोे जब क्षत्रीय पनि:-”म समण हुनेछु” यो सोचेर आफ्नो सम्प्रदायको अधर्मको निन्दा गरि घरबाट बेघर भइ प्रब्रजित हुन्थे । ब्राम्हण पनि…..वैश्य पनि…..शुद्र पनि …….र आफू भित्रको पापधर्मलाई समन (भग्न) गर्नका कारणले समण (श्रमण) नाम रहर्यो।

जन्म हैन कर्म प्रधान

‘वाशिष्ट । क्षत्रिय पनि सरिरले दुराचार, वचन र मनले दुराचार गर्ने, मिथ्या-दृष्टिवाला छ, मिथ्या-दृष्टि(झूटो धारणा)को अनुकूल आचरण गर्छ भने मरे पछि दुर्गति प्राप्त गर्छ, नरकमा उत्पन्न हुन्छ। यसरी नै ब्राह्मण पनि, वैश्य, शूद्र, श्रमण पनि।’

‘वाशिष्ट । क्षत्रिय पनि सरिरले सदाचार, वचन र मनले सदाचार गर्ने, सम्यक्-दृष्टिवाला छ, सम्यक-दृष्टि(सहि धारणा)को अनुकूल आचरण गर्छ भने मरे पछि सुगति प्राप्त गर्छ, स्वर्गमा उत्पन्न हुन्छ। यसरी नै ब्राह्मण पनि, वैश्य, शूद्र, श्रमण पनि।’

‘वाशिष्ट । क्षत्रिय पनि सरिर, वचन र मनले दुवैथरि(कुशल र अकुशल) गर्ने, मिश्रित-दृष्टिवाला छ, त्यस्तै धारणाको अनुकूल मिश्रित आचरण गर्छ भने मरे पछि सुख दुख दुवै भोग्नेवाला गतिमा जन्म लिन्छ। यसरी नै ब्राह्मण पनि, वैश्य, शूद्र, श्रमण पनि।’

‘वाशिष्ट । क्षत्रिय पनि काया, वचन र मनले संयत भएर सैतीस बोधि-पाक्षिक धर्मो(बुद्धको मूल शिक्षा) भावना गरेमा यसै लोकमा निर्वाण प्राप्त गर्छ। यसरी नै ब्राह्मण पनि, वैश्य, शूद्र, श्रमण पनि।’

‘वाशिष्ट । यी चार वर्णोमा जो भिक्षु अर्हत्=क्षीणास्त्रव, समाप्त-ब्रह्मचर्य, कृतकृत्य, भार-मुक्त, परमार्थ-प्राप्त, भववधन-मुक्त, ज्ञानी र विमुकत हुन्छ, उही सबैमा श्रेष्ठ कहलाउंछ।’

‘वाशिष्ट । ब्रह्मा सनत्कुमारले पनि गाथा भनेका छन्― ‘गोत्र लिएर चलनेवाला मानिसहरुमा क्षत्रिय श्रेष्ठ हुन् ।’

जो विद्या र आचरणले युक्त छ, उ देवमनुष्योमा श्रेष्ठ हुन्छ।’

“वाशिष्ट । यो गाथा ब्रह्मा सनत्कुमारने ठीक नै भनेका हुन् , वेठीक हैन। सार्थक भनेका हुन्, अनर्थक हैन। यसको म पनि अनुमोदन गर्छु कि ―‘गोत्र लिएर चलनेवाला मानिसहरुमा क्षत्रिय श्रेष्ठ हुन् ।’

यो अग्गञ्ञ सुत्तलाई अलि गहिरिएर हेरौं, पहिलो भाग ‘मनुष्य जातीको उदय’ सम्म ठिक ठाक लाग्छ, बुद्ध वचनै हुनु पर्छ यहां सम्म। तेस पछिको, प्रलय र त्यसपछिको भाग पछि थपिएको जस्तो देखिन्छ। १) सुरुमा ‘वासेट्ठ! भविष्यमा यस्तो समय आउने छ’ भनेर भविष्यकालमा वाक्यहरु भनिएको छ तर पछि तेहि कथाका वाक्यहरु भूतकालमा भनिएको पाइन्छ ‘वासेट्ठ ! यस प्रकारले फेरि लोकको विवर्त (भवको विकास) भयो।’ २) कर्मको आधारमा मात्र ब्राम्हाण, क्षत्रिय, वैश्य र शुद्र हुन्छन् भनिएको छ एकातिर अर्कातिर ‘गोत्रका आधारमा क्षत्रिय श्रेष्ठ हुन्’ भन्नु आफैमा विरोधाभाष देखिन्छ यसमा। माहापण्डित राहुल संकृत्यायन लगायत विध्वानहरु त्रिपिटक लगयात बौद्ध ग्रन्थहरुमा धरै कुरा पछि थपिएको मान्दछन्। समान्य हिसाव किताव लगाउंदा पनि यो कुरा अनुमान लगाउन सकिन्छ कि बुद्धत्व प्राप्ति पछि बुद्धले ४५ बर्ष शिक्षा (धर्म) प्रवचन गरे। त्रिपिटकमा ८२००० सुत्रहरु छन् त्यसमा करिव २००० शुत्रहरु बुद्धका अन्य भिक्षु-भिक्षुनीहरुले भनेका भए पनि करिव ८०००० सुत्रहरु स्वयं बुद्धले भनेका थिए भनिएको छ। ४५ वर्षमा १६४२५ दिन हुन्छ। बुद्धले यी ४५ वर्षमा हरेक दिन धर्म देशना गरेका भए पनि दिनको करिव करिव ५वटा देशना गर्नु पर्ने देखिन्छ जुनकुरा उचित लाग्दैन। बुद्ध आफै पनि ध्यान बस्थे,कम बोल्थे, चक्रमण गर्थे, भिक्षाटनकलागि जान्थे, उनको हिडाइ सौम्य हुन्थ्यो, हतार गरेर कहिले पनि हिडेनन्।बुद्धले उत्तर भारत अधिकाम्श भुभागमा पुगेर धर्म देशना गरेका छन् , जो निकै ठुलो भुभाग हो। एक गाऊं वाट अन्य गाऊं सहर, नगर पुग्न पनि निकै समय लाग्थ्यो र बुद्धले हमेशा पैदल यत्रा मात्र गरे। आजका गुरुहरु जस्ता हरेक कुरामा र हमेशा प्रवचन दिने पनि गर्दैन थे बुद्ध। यस्ता दिनहरु पनि थुप्रै थिए जव बुद्ध एकान्तवास बसेका थिए।

यसरी दिनको १ या २ भन्दा वढि धर्म देशना दिने कुरा उचित देखिन्न। र बुध्ले बारम्बार भनेका पनि छन् ‘मेरो शिक्षा भनेको शिल, समाधि र प्रज्ञा मात्र हो।’ यसरी बौद्ध ग्रन्थमा आएका यस्ता चमत्कारिक, अलौकिक र विभेदकारी कुराहरु पछि थपिएको अनुमान गर्न सकिन्छ, जुन कुरा अन्य धर्म शास्त्रमा पनि भएका छन्। बौद्ध संघ फूटेर अनेक निकायहरु बने पछि यी भिन्न निकायका त्रिपिटकमै पनि फरक पाइन्छ।

उता मज्झिम निकायको मधुर सुत्त (सुत्र)र अस्सलायन सुत्तमा बुद्धले चारै वर्ण बराबर र चारै वर्णका मानिस धर्म आचरण गर्न र निर्वाण प्राप्त गर्न सक्छन् भनेर प्रष्टै भनेका छन्। अर्कातिर मज्झिन निकायकै कण्णकत्थल सुत्तमा राजा प्रसेनजीतको प्रश्नः ‘भन्ते! यी चार वर्णहरु छन्, क्षत्रि, ब्राम्हण, वैश्य र शुद्र। यी चार वर्णहरुका विच केहि विशेषता वा भिन्नता छ के?’ मा बुद्धले यस्तो जवाफ दिन्छन्ः ‘माहाराज! जहांसम्म अभिवादन, प्रत्युपस्थान(आशन ग्रहण), अञ्जलिकर्म (नमस्कार), सम्मानकर्मको प्रसङ्ग छ, त्याहां सम्म यी चार वर्णहरु मध्ये क्षत्रि र ब्राम्हण श्रेष्ठ देखिन्छन्।’

बसल सुत्तमा ‘जातिले कोहि बसल(निच, शुद्र) हुंदैन र जातिले कोई ब्राह्मण पनि हुदैन । कर्मले नै कोहि वसल हुन्छ र कर्मले नै ब्राह्मण।’ अनि पाप कर्म गरेमा अर्को जन्म निचकुलमा हुन्छ भनेर पनि भनिएको छ। अव यहां ‘कर्म’ भन्ने शब्दले भ्रम पैदा गर्छ। ‘जन्म होइन कर्मले जात जनाउंछ’ भनेर भन्दा ‘पेशा’ भन्न खोजेक हो जस्तो लाग्छ। तर ‘अकुशल कर्मले निच कुलमा जन्म लिनु पर्ने र कुशाल कर्मले उच्च कुलमा’ जस्ता कुरा आऊदा पेशा नभै मानिसको पाप-पुण्य कर्म बुझिन्छ। यदि यस जन्मको कर्मले अर्को जन्ममा उच या चिन कुलमा जन्म गराउंछ भने, हाम्रो यो जन्मा कुनै उंच या निच कुलमा हुनु पुर्व जन्मको फल मान्नु पर्ने हुन्छ। यसरी जन्मले होइन कर्मेले हो भने पनि कुरा एउटै हुन आऊछ कनकी कर्मले नै जन्म निर्धारण गर्छ। यसरी हिन्दु र जैनले सिधै जन्म भने बौद्धले कर्म भने, कान सिधै समाउने कि हात टाउको पछाडिवाट लगेर समाउने भन्ने मात्र हो, तात्विक फरक देखिन्न। माथि उल्लेख गरीएको ‘मानवसत्वको उत्पत्ति’को कथामा समेत विस्तारै विस्तारै मानवको आचरण (या शनुसाशन वा नैतिकतामा) आएको ह्रास अनुसार वर्ण व्यवस्था स्थापना हुंदै गएको देखिन्छ।

हो बौद्ध संघमा कुनै पनि वर्णलाई प्रवेशमा रोक थिएन, संघ भित्र शुद्र भनेर विभेद पनि थिएन। तर सबै शुद्र भिक्षु-भिक्षुणी बन्न त सक्दैनन् , समाजमा बिध्यमान कर्मको आधारमा हुने वर्ण ब्यबस्था र भेदभाव त कायमै रहन्छ। बौद्ध शिलमा(अनुशासन, नियम) (यौन)मित्थ्या आचरण नगर्नु भनिएको छ, मित्थ्या आचरण गरे अर्को जन्ममा महिला या नपुंशक भएर जन्मिनु पर्छ भनेर अर्थकथाहरुमा ब्याख्या गरिएको छ। यसको मतलव आजका महिला र नपुंशक पूर्व जन्ममा यौन मित्थ्याचारी भएको कारणले हुनु पर्यो। यो कुराले जनमानसमा खासगरी पुरुषले हेर्ने दृष्टिकोण त पूर्वाग्रही नै हुने भयो। त्यसरिनै अरुलाई गालि गलोज गरे, अरुको बेइजज्ति गर्ने जस्ता कर्म गरे अर्को जन्ममा निच कुलमा जन्म हुन्छ भनिएको छ, यसले पनि आज कथित निच कुलमा जन्मने त पूर्व जन्ममा यी अकुशल कर्म गरेर भएका भन्ने पुर्वाग्रह त जनमानस मा रहन्छ। हो ‘कर्मले जाती बनाउने सिद्धान्तले’ अर्को जन्मलाई कथित उच्च कुलिन बनाउन प्रेरणा त गर्ला तर यो जन्मको भेदभाव कम गर्न नसक्ला।

जै‍न धर्मामा भनिएको चक्रब्रति राजा भरतको पाला देखिको भेदभाव निकै पुरानो काल देखिको देखिन्छ, बौद्ध ग्रन्थ अनुसार त यो भेदभाव भव(सृष्टि)को प्रलय पछि फेरि सृष्टि विकासको कालको सुरुवात देखि नै वर्ण ब्यबस्था स्विकार गरेर यो कडि झन पुरानो र सनातन कालदेखि चलेको देखाउंछ। बौद्ध ग्रन्थमा जाती भेदभाव नरम छ, शुक्ष्म छ हिन्दु र जैनको भन्दा, तर हुंदै नभएको होइन।

अंगुत्तर निकाय खत्तिय सुत्त

खत्तिय(क्षेत्रिय) सुत्तमा जाणुस्सोणि र भगवान बुद्ध विच वर्ण व्याबस्था अनुसार विभिन्न बर्णको जीवनको उद्देश्य, प्रधान विचार, उसको ध्यान र उसलाई परम सन्तुष्टि के ले प्राप्त हुन्छ भन्ने विषयमा रोचक वार्तालाप देखाएइको छ।

एक समय जाणुस्सोणी ब्राम्हण भगवान बुद्ध भएको ठाउंमा गए, अभिवादन गरेर बुद्धलाई सोधे: ‘हे गौतम ! क्षत्रीय जनका जिवनको अभिप्राय ( उद्देश्य ) के हुन्छ ? उसको प्रधान बिचार के हुन्छ ? उसको प्रतिश्ठा कुन कुरासँग हुन्छ ? उसको नजर(ध्यान) कुन कुरामा हुन्छ ? उसलाई परम सन्तुष्टि कुन कुराले हुन्छ ?’

“हे ब्राम्हण ! क्षत्रीयको जिबनको उद्देश्य भोग्य पदार्थ संग्रह गर्नुहुन्छ । उसको प्रधान बिचार प्रज्ञावान बन्नु हुन्छ । उसको प्रतिश्ठा बलवान् बन्नाले हुन्छ । उसको नजर पृथ्वीको स्वामी बन्नेमा हुन्छ । उसको परम सन्तुष्टि राज्यभीषेक आदि ऐश्रर्यको प्राप्तिले हुन्छ।’

त्यस्तै प्रश्न ब्राम्हाणहरुको बारेमा गर्छन् जाणुस्सोणी ब्राम्हण।

बुद्धः ‘हे ब्राम्हण ! ब्राम्हणहरुको जिबनको उद्देश्य भोग्य पदार्थको संग्रह गर्नुहुन्छ । उसको प्रधान बिचार प्रज्ञावान बन्नु हुन्छ । उसको प्रतिश्ठा (वेद) मन्त्रका जानकार हुनाले हुन्छ । उसको नजर यज्ञका लागी रहन्छ । उसलाई परम सन्तुष्टि ब्रम्हा लोकगामी हुनाले हुन्छ।’

वैस्यहरुको वारेमा,

बुद्धः ‘हे ब्राम्हण ! वैस्य(गृहपति)हरुका जिबनको उद्देश्य भोग्य पदार्थ संग्रह गर्नुहुन्छ । उसको प्रधान बिचार प्रज्ञावान बन्नु हुन्छ । उसको प्रतिश्ठा शिल्प जानकार हुनाले हुन्छ । उसको नजर कर्मान्तमा (गृहस्थका काममा) रहन्छ । उसलाई परम सन्तुष्टि गृहस्थी काम समाप्त हुनाले हुन्छ ।’

स्त्रीहरुका वारेमा,

बुद्धः हे ब्राम्हण ! स्त्रीहरुको अभिप्राय (उद्देश्य) पुरुष प्राप्त गर्नुहुन्छ । उसको प्रधान बिचार अलंकार युक्त (गरगहना लागाउनु)रहनु हुन्छ । उसको प्रतिश्ठा पुत्र हुनाले हुन्छ । उसलाई परम सन्तुष्टि ऐश्रर्य प्राप्तिले हुन्छ।’

चोरक वारेमा (यहां शुद्र शब्द प्रयोग गरिएको छैन)।

बुद्धः ‘हे ब्राम्हण ! चोरको जिबनको अभिप्राय (उद्देश्य) चोरी गर्नुहुन्छ । उसको प्रधान बिचार लुकेर बस्नुहुन्छ । उसको बल शस्त्रधारी हुनाले बढछ । उसको नजर अँध्यारोमा लागी रहन्छ । उसलाई परम सन्तुष्टि कसैले नदेख्दा हुन्छ।’

श्रमणहरुको वारेमा,

बुद्धः ‘हे ब्राम्हण ! श्रमणहरुको जिबनको अभिप्राय ( उद्देश्य ) क्षमावान र शिलवान बन्नुहुन्छ । उनीहरुको प्रधान बिचार प्रज्ञावान बन्ने हुन्छ । उनीहरुको प्रतिसश्ठा शिलवान हुनाले हुन्छ । उनीहरुको नजर अकिञ्चन(पवित्र) बनी रहनुमा हुन्छ । उनीहरुलाई परम सन्तुष्टि निर्वाण प्राप्तीले हुन्छ ।’

यसरी जातकुल तथा लैङ्गिकताको आधारमा ‘फरक व्यक्तिको जिवनको फरक अभिप्राय, वल, शन्तुष्ठि, परम उध्देशय लगायत हुने’ भन्ने कुरा बुद्ध वचन भनेर आएको छ। जातकुल वा वर्ण व्यवस्था नमान्ने बुद्ध भगवानको वचन यस्तो कसरि आयो? अनि के स्त्री जिवनको उदेश्य पति, पुत्र प्राप्ति र गरगहना मात्र हो त? वांकि सबैको प्रधान विचार प्रज्ञावान हुनु छ, स्त्रीको भने अलंकार प्राप्ति र चोरको प्रधान विचार लुकेर वस्नु भनिएको छ।

अव हेरौं (बुद्ध हुन जन्म लिने) बोधिसत्वले ब्राम्हण या क्षेत्रिय कुल नै किन रोज्छन् त?

बौद्ध मान्यता अनुसार (बुद्ध बन्न निश्चित सत्व) बोधिसत्वको अन्तिम जन्म हमेसा या त ब्राम्हण या त क्षेत्रिय कुलमा मात्र हुन्छ। त्यो पनि पुरुषको रुपमा मात्र हुन्छ।

ललितविस्तार ३/२६ः ‘बोधिसत्व हीनकुलमा,चांडाल कुलमा ,रथकार कुलमा ,निषाद कुलमा उत्पन्न हुंदैनन्, बरु दुई कुल, ब्राह्मण कुल या क्षत्रिय कुलमा, मात्र उत्पन्न हुन्छन्। जब संसारमा ब्राह्मणहरुको वर्चस्व हुन्छ तब ब्राहमण कुलमा र जब क्षत्रियहरुको वर्चस्व हुन्छ तब क्षत्रिय कुलमा उत्पन्न हुन्छन् बुद्ध।’

तुसित लोक(देवलोक)वाट च्युत भएर मनुस्य लोकमा जन्म लिने बुद्धले असङ्ख्य कल्प (कल्पनै गर्न नसकिने लामो सहय)पुण्यकर्म गरी आफू सुद्ध पवित्र राहेका कारण यो अन्तिम जन्म पनि यी दुइ उच्चकुल मध्ये एक मा जन्म लिने भन्ने मान्यता छ। यसरी बौद्धमार्गको उच्चतम तह (संयक संबुद्ध)मा पुग्नु अगाडिको समयसम्म पनि वर्ण ब्यबास्थाको जकड बौद्ध धर्ममा पनि देखिन्छ।

शास्त्रमा मिलावट

श्रुती परमपरा (गुरुले भन्ने चेलाले सुनेर कण्ठ राख्ने र अघिल्लो पिडिंलाई सुनाउने) अनुशार धेरै समय सम्म चलेका धर्म-पन्थहरुमा मिलावट सजिलो हुन्छ खासगरीकन त्यो पन्थ प्रवर्तन गर्ने गुरु वा महानुभावको मृत्यु पश्चात। पूर्विय दर्शनहरु श्रुती परम्परामा चले लामो समय सम्म। लेख्ने चलन बुद्धको समय भन्दा निकै पछि मात्र सुरु भएको हो। हुनत लेखन परम्परामा पनि मिलावट वा थपघट सजिलै हुन सक्छ।

प्राचीन समाजमा ब्यक्ति शूद्रवाट ब्राह्मण बनेको उल्लेख्य उदाहरणहरु छन्। मर्यादा पुरुषोत्तम रामका गुरु वशिष्ठ महाशूद्र चांडालका संतान थिए, तर आफ्नो योग्यता को बलमा ब्रह्मर्षि बने। एक मछुआर (निषाद) आमाका सन्तान व्यास ‘महर्षि व्यास’ बने। माहाभारतका विदुर दासी पुत्र कर्मले नीति निपुण मंत्री बने, शूद्र रत्नाकर डाकु महर्षि वाल्मीकी बने। अचम्मको कुरा यीनैवाट रचना गरिएका ग्रन्थहरुमा हामी शुद्र विरोधि नितिहरु पाउंछौं। मिलावट?

वाल्मीकीय रामायणको आज तीन संस्करण भेटाइन्छः दाक्षिणात्य , पाश्चमोत्तरीय , गौडीय या पूर्वीय । इन तीनै संस्करणहरुमा अनेक सर्गहरु र श्लोकहरुमा अन्तर छ। काठमाण्डू स्थित राष्ट्रीय अभिलेखालयमा नेवारी लिपिमा वाल्मीकीय रामायणको एक पाण्डुलिपि सुरक्षित छ जो लगभग एक हजार वर्ष पुरानो मानिएको छ । यसमा वर्तमान चल्तिका संस्करणहरु भन्दा सयैं श्लोकहरु कम छन्। यसरी सबै धर्म‍-पन्थका ग्रन्थहरुमा मिलावाट भएको छ, थप विकास भएको छ (राम्रा र नराम्रा दुवै), थपघट गरिएका छन् समय क्रममा।

जात र जुङ्गाको लाडाई

जात र जुङ्गाको लाडाईमा महिला, शुद्र, अल्पसंख्यक र सिमान्तकृत समुदाय सिकार भएको अनुमान लगाउन सकिन्छ। क्षेत्रि ठूलो को ब्राम्हण ठूलो विवादमा क्षेत्रि ठूलो भनिएको छ र बुद्धवचन भनेर ‘सुत्त’ नै खडागरिएको छ। उता ब्राम्हण ठूलो भनेर मनु स्मृति, विभिन्न पुराणहरु, रामायणआदिममा लेखिएको छ र नाम दिइएको छ ‘भगवान या इश्वरले’ भनेको या बनाएको भनेर।

अर्को पाखण्ड ‘कस्को भगवान ठूलो’ भन्ने प्रतिस्पर्दामा देखिन्छ त्यतिवेलाका चिन्तक र धर्म पन्थिहरुमा। हिन्दुहरुले बुद्धलाई बिष्णुको अवातार माने, जुनकुरा निकै सहिष्णु देखिन्छ सरसरति हेर्दा। तर विष्णु अवतार धारी बुद्धको भूमिकाको वारेमा थाहापाउंदा देखिन्छ कति अपमान गरिएको थियो यस घोषणाले बुद्धको। यस अवतारी धारणा अनुसारः ‘बुद्धको कार्य भनेको, समाजमा जो मानिसहरु धर्मको नाममा पाखंड तथा पशुहिंसा आदि गर्छन्, यस्ता आसुरी सम्पदा(गुण)ले युक्त पुरुषहरुलाई मायावी उपदेशद्वारा सनातन (वैदिक धर्म)वाट विमुख गर्नु हो, जसरी कुनै फोडा(ट्यूमर)लाई शरीरवाट काटेर यसकारण अलग गरिन्छ ता की यसले वांकि अंगलाई नोक्सान नगरोस्।’ यसरी बुद्धलाई निचा देखाइएको छ, मयावि उपदेश दिने भनिएको छ। तर यो एक तर्फा छैन, यो भन्दा पहिला नै हिन्दुका माहादेवलाई बौद्धगुरु पद्मशंंभवले पराजित गरी बौद्ध धर्मको रक्षक एउटा मामुलि देवताका रुपमा स्थापित गरेको कथाको रचना भैसकेको थियो। दक्षिणकालीलाई पनि त्यसरिनै बौद्ध धर्म रक्षक एउटी मामुली देविका रुपमा स्थापित गरिएको छ बौद्ध ग्रन्थहरुमा। यतिमा मात्र रोकिदैन, हिन्दुहरुले मानेका सृष्टिका रचइता ब्रम्हालाई बुद्धले नै भेटि ‘तिमी रचइता पनि होइनौ, तिमी मुक्त पनि भएका छैनौ संसार चक्रवाट’ भनेको कथा छ बौद्ध साहित्यमा।

अर्को पाखण्डाको प्रतिस्पर्दा देखिन्छ, खास गरी बुद्ध, महाविरकाल पछिका ५०० बर्ष जति सम्म, यसले धर्महरुलाई चरमपन्थ तिर लगेको देखिन्छ। त्यो हो,’आफू सबै भन्दा बढि सिल, नियम, अनुशानको पालना गर्ने, अरु भन्दा बढि ब्रमहचारी, अरुको भन्दा हाम्रो मठ-संघ-गुरुकुल सुद्ध, हाम्रो धर्म सबै भन्दा शुद्ध पवित्र धर्म पन्थि’ भन्ने होडमा यस्ता नियमहरु थपिएका छन् कि जस्ले स्त्री, शुद्र, नपुंशक, अपाङ्गता भएका या रोगीहरुलाई धर्मको मार्गमा निकै अवरोध खडागरिएको छ। कति धर्म पन्थिले त यी समुदायलाई दिक्षा लिन, धर्म सुन्न या धर्मका कुनै पनि अर्चना गर्न वाट बञ्चित नै गरेका छन्। ‘सांडेको जुदाई वाच्छाको मिचाइ’ चरितर्थ भएको छ।

आजकल केहि हिन्दु चिन्तकहरु बौद्धकालमा बौद्धको प्रभावमा हिन्दु धर्ममा जातप्रथा भित्रियो भन्छन् भने उतातिर जैन र बौद्धहरु हिन्दु धर्मको कुप्रभाव आफ्नो धर्ममा परेको भनेर आरोप लगाउंछन् र पन्छिन खोज्छन्। यो जातिय भेदभाव बुद्धकाल भन्दा अघिदेखि नै चलनमा रहेको विज्ञहरुले अनुमार लगाउने गरेका छन्। जो समयक्रममा थप विकास हुंदै भारतमा मुगल शासनमा अझ बढि संस्थागत भयो किनकि मुस्लिम शासकहरुले उच्चजातकाहरुलाई नै सरकारी र उच्च ओहदामा राखे। अंङ्ग्रेजहरुले पनि पहिला पहिला उच्चजातकाहरु लाई नै राज्यका उच्च ओहदामा राखे, दलितहरुलाई कुनै मौका दिएनन्। त्यो त अङ्ग्रेजी शासनको उत्तरार्धतिर जव भारतमा स्वतन्त्रताको आन्दोलन हुन थाल्यो अनि मात्र अङ्ग्रेजहरुले दलित र अन्य अल्पसंख्यकका अधिकार र समाबेशिका कुरा उठाउन थालेका हुन्।

बौद्ध धारणा अनुसार सृष्टिको सुरुवतमा वर्ण ब्यबस्था सुरु हुंदा क्षत्रिय वर्ण पहिला रचना भएको अनि मात्र ब्राम्हण वर्णको रचना भएको भनिएको छ, जवकी जैन धर्म अनुसार पहिला तिन वर्ण मत्र थिए, ब्राम्हण वर्ण त थिदै थिएन, चक्रब्रति राजा भरतले पछि ब्राम्हण वर्ण थपिदिएको पाइन्छ।

ब्राम्हणवादको रटाइले समस्यालाई अमुर्त बनाइदिन्छ, छोपिन्छ मात्र, समाधानदिदैन। ती ग्रन्थहरु र शास्त्रहरुका रचयिताहरु (जो सबै ब्राम्हण पनि थिएनन्) अहिले छैनन्, नत ती शासकहरु नै छन् जस्ले यस्ता प्रावधानहरु लागु गरे। अहिले ती ग्रन्थहरु छन् , ती ग्रन्थहरुलाई निरन्तर प्रचार गरी रहने घर्मठकेदारहरु छन्, चाड पर्व र रिति रिवाज मनाउने जन समुदाय छ। कथित अभिजात्य समाज र अपजात्य समाज पनि छ। त्यसैले समाधानका लागि केन्द्रमा यी ग्रन्थहरु, यीनका प्रचार, जातिय ब्यबस्था मान्ने जनसमुदाय र यसलाई संरक्षण गर्ने शासन प्रणालिमा केन्द्रितहुनु पर्छ भेदभाव हटाउनका लागि। सबैले योगदान गर्नु पर्छ तर यस्ता भेदभाव हटाउने मुख्य जिम्मा भने सरकारको नै हो।

आजको जमानामा वर्ण व्यबस्था आबस्यक छैन, चाहे त्यो जन्मको आधारमा होस् या कर्मको आधारमा होस् या पेशाको आधारमा नै किन नहोस्। वर्ण ब्यबस्था नभएका यति धेरै समाजहरु राम्रै चलेका छन् विश्वमा। जापान, अमेरिका, बेलायत, चिन लगायत वर्णब्यबस्था नभएका देशहरु निकै राम्रो विकास गरेका छन्। त्यसकारण वर्णव्यबस्थालाई संपूर्ण रुपमा त्याग्नु नै बेश हुन्छ, समाजवाट, रितिरिवाज चाडवाडहरुवाट र धर्म ग्रन्थहरुवाट। धर्म गर्न्थहरुमा जसरी मिलावट गरिए र महिला, दलित, तेस्रोलिङ्गि, अपाङ्गता भएका ब्यक्तिहरुमाथि अपामानित र विभेद पूर्ण प्रावधानहरु राखिए तिनका सफाई हुनु अति आवश्यक छ, या फालिनु पर्छ। यसो गरेमा नया आउने पिडिले यस्ता भेदभाव सिक्ने मौका नै पाउने छैनन्।

भवतु सब्ब मंगलम् !

भिक्षु कश्यप

--

--