नेपालमा राजनितिक जुडो

Monk's Blog
2 min readJun 8, 2021

जापानमा प्रचलित जुडो एउटा युद्ध कला (मार्शल आर्ट) अरुभन्दा भिन्न युद्ध कला हो। ‘डो’ भनेको चाइनिज शब्द ‘दाओ’ बाट आएको हो, जसको अर्थ मार्ग, बाटो, तरिका भन्ने लाग्छ, ‘जु’ भनेको ‘जेन्टल’ अर्थात् सभ्य, नरम, भलो । ‘जुडो’ मतलब भलोबाटो, नरमबाटो।

जुडोमा सामुन्ने रहेको शत्रुको बललाई उसैको अहितमा हुनेगरी प्रयोगमा ल्याइने युद्ध कला हो। यसमा जुडो अभ्यासीले आफ्नो बल आक्रमणका लागि प्रयोग गर्दैन, बरु प्रतिपक्षीको बललाई उसैको अहितमा लगाइदिने काम मात्र गर्छ । त्यसैले, यो युद्ध कलालाई नरम मार्ग अर्थात् ‘जुडो’ भनिन्छ। जुडो अति नै प्रभावकारी युद्ध कला हो किनकि यसमा जुडो अभ्यासीले आफ्नो बल लगाउनु पनि पर्दैन, शत्रु उसकै बलले सिद्धिन्छ।

मावोवादीले जनयुद्ध बक्सिङ् कलामा आधारित भएर खेलेको थियो। बक्सिङ् कलामा प्रतिपक्षीलाई चतुराईंका साथ सकेकम्म जोडदार बल लगाएर मुखैमा आक्रमण गरिन्छ र आफ्नो बलले शत्रुलाई ढाल्ने प्रयास गरिन्छ। तत्कालीन राजा ज्ञानेन्द्रले पनि यही बक्सिङ् कला नीति आपनाए माओवादी विरुद्ध लड्नका लागि।

त्यतिबेला मावोवादी र राजाले त बक्सिङ् कला नीति अवलम्बन गरेर युद्ध लडे, तर विदेशी शक्तिले नेपालमा जुडो खेलेको पत्तो पनि पाएनन् । नेपालबाट राजसंस्था ढल्यो, १७००० नेपालीहरू मरे, तर न त नेपालमा साम्यवाद आयो न त जनताले सुख नै पाए ।

आजको नेपालको संदर्भमा रानीतिक दलको पहिलो बल भनेको जनताको विश्वास, यो दलहरुले अति तीव्र गतिमा गुमाइराखेका छन् अहिले।

दोस्रो बल दलभित्रको एकता हुने गर्दछ, जुन कुरा नेपालका कुनै पनि दलसँग बलियो छैन यतिबेला ।

तेस्रो बल भनेको विदेशी कृपा, यसमा भारत, चीन र अमेरिका लगायत पश्चिमा शक्तिको समर्थन हुने गर्दछ । यी तिनै शक्तिहरू आ-आफैमा पनि प्रतिस्पर्धामा छन् — नेपालमा प्रभाव जमाउनका लागि। भिन्न विदेशी शक्तिले भिन्न समयमा, भिन्न राजनीतिक दललाई समर्थन गरेको अवस्था छ। तर पनि यो शक्तिबाट अझै पनि नेपालका प्राय: सबै ‘ठूला’ दलहरूलाई कृपा-बल प्राप्त छ।

चौथो बल भनेको नेपालको स्थाई प्रशासन हो, यसले प्राय: (सामान्य अवस्थामा) सरकारको नेतृत्व गर्ने दललाई बल प्रदान गरेको हुन्छ।

पाँचाैँ (र, अति चुनौतिपूर्ण घडिमा कामलाग्ने) बल भनेको सेना हो। नेपालमा सेनाले कुनै दललाई समर्थन गरी बल प्रदान गर्ने गर्दैन, तर सरकारकाे नेतृत्व गर्ने दलले, सरकार मार्फत, यो बलको प्रयोग गर्ने संभावना भने रहन्छ।

यी पाँचमध्ये पहिलो २ बलमा खास ध्यान दिनु नै परेन, किन कि सबै दल यी बलमा कमजोर भैसकेका छन्। बाँकी ३ बलमा भने अमुक दलले राजनीतिक जुडो खेल्न सक्छन् । कसरी खेल्छन् ? प्रतिपक्षी दलको बललाई उसैको अहितमा प्रयोग गरेर ।

कुन दलले खेल्ला राजनीतिक जुडो या फेरि पनि विदेशी शक्तिको जुडो कलाको पत्तै नपाई आ-आफै सिद्धिने हुन् ? समयले बताउला……

--

--