पितृसत्ताको म्यानुअल (विधि)

Monk's Blog
16 min readJun 7, 2021

आधुनिक मानवको सुरूवातदेखि लामो समयसम्म मातृसत्तात्मक समाज प्रचलनमा थियो। ‘प्रकृति’ को उपासना गर्ने परम्परा दक्षिण एसियामा निकै प्राचीन हो। खासगरी आदिवासी समुदायमा अलि बढी थियो। द्रविडजातिमा पनि देवी उपासना प्रचलित थियो। मातृशक्ति पूजा गर्ने अवधारणा विश्वका अन्य सभ्यतामा पनि प्राचीनकालदेखि नै थियो। बेबिलोन, यूनान र रोमन सभ्यतामा देवी पूजा गरिने कुरा विद्वानहरू बताउँछन्।

यो पनि रोचक तथ्य छ, जब यूनानीले रोमनलाई पराजित गरे, तब उनीहरूकी देवी, एफ्रोडाइट रोमनहरूकी देवी ‘भीनस (शुक्र ग्रह)’ बनिन्।

भारतीय उपमहाद्वीपबारे विद्वानहरूको मान्यता छ- सिन्धूघाटीको सभ्यताका नागरिकहरू जुन मातृका वा शक्तिको उपासना गर्थे, ती मातृका वा शक्ति वैदिक सभ्यतामा काली वा देवीका आरम्भिक रूप बन्न गयो। र जुन देवताको पूजा गर्थे, ती देवता आगामी वैदिक सभ्यतामा पशुपति र रुद्र कहलाइए।

माता वा शक्तिको यो स्वरूप प्रकृतिको स्वरूप थियो, प्रकृतिनजिक थियो। उत्खननबाट प्राप्त हडप्पन सभ्यताको एक मूर्तिमा देवीको गर्भबाट एउटा रूख उत्पन्न भएको देखाइएको छ। त्यतिबेला अरू देवीहरूको पनि पूजा गरिन्थ्यो।

पितृसत्ता स्थापना हुनुअगाडि मातृसत्तात्मक समाजको संरचना कस्तो थियो, कस्ता-कस्ता सम्बन्ध स्थापित थिए भनेर यकिन गर्न निकै गाह्रो छ। किनकी त्यतिबेलाका अधिकांश सामाजिक, सांस्कृतिक आयाम लोप भइसके र लिखित रूपमा केही उपलब्ध छैन। बचेखुचेका कथा पनि पितृसत्तालाई बढावा गर्ने गरी पुराणमा भिन्नै किसिमले प्रस्तुत गरिसकिएको छ। जस्तो, लिंग-पुराणमा कालीलाई शिवकी पत्नीका रूपमा देखाइएको छ।

केही मातृशक्तिबारेमा बुझ्न हामी कालीदेखि गौरीसम्मको यात्रा बुझ्ने प्रयास गरौं। देवीका चित्रलाई नियालेर र जान्ने कोसिस गरौं मातृसत्ताको उतार र पितृसत्ताको चढाव। पौराणिक कथाभन्दा पनि देवीहरूले लगाएका पोशाक, चिह्न, वाहन, हतियार, मुद्रा आदिका आधारमा।

कालीः

काली महिला जातिको प्रतीक, शिव पुरुष जातिको। काली प्रकृतिको प्रतीक र शिव संस्कृतिको। कालीको कपाल (चेतना, सोच, विचारको प्रतीक) सधैं खुला हुन्छ। कालीले आफ्नो कपाल बाँध्दिन थिइन्। यो संकेत हो, नारी जातिको विचार, सोच, कल्पना प्रकृतिजस्तै स्वतन्त्र छ। पुरुषले बनाउन खोजेको संस्कार, परम्परामा बाँधिनु छैन नारीलाई।

कालीको हातमा रहेको पुरुषको छिनालिएको टाउकोले संकेत गर्छ, अहंकार छिनालिएको छ। शिवको शरीरका धेरै अंगमा सर्प बेरिएको हुन्छ। सर्पले इर्ष्या संकेत गर्छ। इर्ष्याले भरिएको शिवमाथि काली उभिएकी छिन्, इर्ष्यालाई जितेकी छिन्। आँखा ठूला-ठूला छन्। आँखाले बुद्धि संकेत गर्छ। अर्थात् ‘बुद्धि’ले राम्रोसँग देखेकी छिन्। कालीलाई क्रोधित देखाइएको छ, यसको अर्थ साहस, उत्साह, प्रयास हो।

लामो जिब्रो निकालिएको छ। जिब्रोले चाख्ने काम गर्छ (त्यसैले पाली भाषामा आँखालाई ‘चक्खो’ र संस्कृत भाषामा ‘चक्षु’ भनिन्छ)। कालीको लामो जिब्रोले चाखेर अर्थात् अनुभवद्वारा जान्ने भन्ने संकेत गर्छ।

उनले रक्तबिजलाई हन्त गरेकी छिन्। रगतले आश्रव (चित्त दूषित गर्ने तत्व) संकेत गर्छ। आश्रवको बिज भनेको तृष्णाको हो। जब-जब तृष्णाले ‘भूमि’ पाउँछ, रक्तबिजको फेरि-फेरि जन्म हुन्छ। अर्थात् प्राणीको सांसारिक दुःखचक्रमा जन्म भइरहन्छ। रगतलाई भूमिमा झर्न नदिनु भनेको तृष्णालाई कर्म-संस्कार बन्न नदिनु हो। कर्म-संस्कारको अन्त भएपछि जन्म-मृत्युको चक्र र दुःखबाट मुक्त र मोक्ष-निर्वाणको साक्षात्कार हुनु हो।

कालीको वाहन सिंह हो। गाई, गोरु, भैंसी, कुकर, हात्ती, घोडा आदि जनावरलाई मानिसले पाल्तु बनाउन सक्छन्, बनाएका छन्। तर सिंह पाल्तु बन्दैन। कालीको वाहन सिंहले पनि काली ‘पितृसत्ताको पाल्तु’ बन्दिनन् भन्ने संकेत गरेको छ। सिंहले निडरता र स्वाभिमान पनि संकेत गर्छ। कालीमा कुनै भय छैन र पूर्ण स्वाभिमान छिन्।

काली कपडा लगाउँदिनन्। कपडा लगाउनुको अर्थ प्रकृतिलाई छाडेर संस्कृति अँगाल्नु हो। काली प्रकृति हुन्, पितृसत्ताद्वारा संस्कारित हुन इन्कार गर्छिन्। मोक्ष-निर्वाणका लागि उच्चतम ध्यान-साधनाको मार्ग हुन् काली। जसरी पितृसत्ताका आदर्श शिव, जिसस्, मोहम्मद, राम, अल्लाह आदि हुन्, काली मातृसत्ताको आदर्श पात्र हुन्। त्यसैले त ‘राक्षस’ रक्तबिजलाई पराजित गर्न नसक्ने तीनै देवहरू, ब्रह्मा, विष्णु र शंकर ‘रक्तबिजलाई नास गरिदेऊ कालीमाता’ भन्न उनको प्रार्थना गर्छन्।

कालान्तरमा पितृसत्ताले ‘प्रकृति (महिला)’ माथि नियन्त्रण गरी ‘संस्कृति’ स्थापना गर्ने चरम इच्छा कार्यान्वयन गर्न सुरू गर्छ। कालीलाई उग्र, असभ्य, अभद्र भन्न थाल्छ। सभ्य र भद्र बनाउन कोशिस गर्छ र निर्माण गर्छ भद्रकाली।

भद्रकालीः

वाहन अझै पनि सिंह नै हुन्छ। तर कालीलाई लुगा-गहना लगाइएको हुन्छ। संस्कारित गर्ने क्रम सुरू भएको छ महिलाको, कालीलाई भद्रकाली बनाइएको हुन्छ। उनको कपाल भने अझै खुलै छ। अर्थात् महिलाको चेतना, विचार र सोच स्वतन्त्र नै छ यहाँसम्म।

अर्धनारेश्वरः

अब पुरुषले हामी पनि महिला बराबर छौं भन्न थाल्छ। शिव र शक्तिको अर्धनारेश्वर रूप सामने ल्याउँछ अर्थात् पुरुषले महिलाको बराबरी गर्छ। यहाँसम्म आउँदा काली केही हदसम्म गोरी भइसकेकी छिन्। कपाल मिलाउने र सिँगारपटार गर्ने भइसकेका छन् महिलाहरू। पुरुषको साथ जोडी भएर बस्न थालिसकेका छन्।

सतीः

सती देवीको समयमा आइपुग्दासम्म महिलाको रूप निकै फेरिइसकेको छ। सती शिवसँग, बुबा दक्ष प्रजापतिको इच्छाविपरीत विवाह गर्छिन्। तर पति शिवको अपमान भयो भनेर आत्महत्या गर्छिन्। सतीको वाहन वृषभ (गोरु) देखाइएको छ, गोरु पाल्तु हुन्छ। यसको अर्थ महिला पूर्ण घरेलूकरण गरिसकिएका थिए।

सतीको वस्त्र र गहना पनि भद्रकालीको भन्दा निकै धेरै छन्। महिलाहरू संस्कारित भइसकेका छन्। पतिको मूल्य र महत्व पत्नीको भन्दा धेरै स्थापित भइसकेको छ। महिला पतिका लागि ‘ज्यान दिन’ तयार भइसकेका छन्।

पार्वतीः

सतीले पार्वतीका रूपमा अर्को जन्म लिन्छिन्। पार्वती शिवलाई प्राप्त गर्न तपस्या नै गर्छिन्। हजारौं वर्ष तपस्या गरेपछि मात्र शिवलाई पतिका रूपमा पाउँछिन्। उनीहरूका सन्तान पनि हुन्छन्। पार्वतीको वाहन वृषभ नै हुन्छ। उनका पोशाक र गहना सतीकाभन्दा अझै विलासी भएका छन्। महिला पूर्ण गृहिणी भइसकेका छन्। पति पाउन तपस्या गर्ने र पतिको भक्तिनी बनिसकेका छन्। घरेलु र पारिवारिक, संस्कारी र पाल्तु बनाइएका छन् महिलाहरू।

गौरीः

पार्वतीकै परिष्कृत रूप गौरी बनाइएको छ पुराणमा। महिला कालीबाट पूर्ण गौरी भइसकेका हुन्छन्। अब वस्त्र र गहनाको वैभव (सम्पत्ती) पनि कम मात्र उपलब्ध छ महिलालाई। पुरुषको पूर्ण भक्ति गर्ने र पूर्ण दासत्व स्वीकार गरिसकेका छन् महिलाले।

हरिहरः

अब विष्णु र शिव मिलेका छन्। महिलाको अस्तित्व गणना हुन पनि छाडिएको छ। भस्मासुरलाई मार्न विष्णुले मोहिनी रूप धारण गर्छन्। मोहिनीमा शिव पनि मोहित हुन्छन्। समागमबाट पुत्र जन्मिन्छ, जसलाई हरिहर-पुत्र भनिन्छ। विष्णु र शिवको जुगलबन्दीको रूप हो ‘हरिहर’।

रक्तबिज, महिषासुर, शुम्भ-निशुम्भ जस्ता असुरलाई मार्न नसकेर कालीको आराधना गर्ने शिव, विष्णु, ब्रह्मा (अर्थात पुरुष समाज) लाई अब महिलाको आवश्यकता छैन। विष्णुले नै नारीजातिको बचेखुचेको भूमिका पनि खेलिदिएका छन्।

अब हेरौं उपलब्ध वेद, उपनिषद, पुराण, सूत्र लगायत ग्रन्थबाट अनुमान लगाउन सकिने मातृसत्ताको उतार र पितृसत्ताको चडावः

ऋग्वैदिक-काल (ईपू ४००० देखि ३०००)

यो समयमा परिवारको कुनै पनि आर्थिक, सामाजिक एवं धार्मिक कार्य नारी बिना सम्पन्न हुन सक्दैनथ्यो। नारी बिना पुरुष अपूर्ण मानिन्थ्यो। जबसम्म पुरुषले विवाह सम्पन्न गरेर पत्नी प्राप्त गर्दैनथ्यो तबसम्म याज्ञिक अनुष्ठान सम्पन्न गर्ने अधिकार राख्दैनथ्यो।

स्त्रीलाई पुरुषको ‘अर्धांगिनी’ भनिन्थ्यो (सायद अर्धनारेश्वरको समय)। यज्ञदेखि आश्रम व्यवस्था, शिक्षा, गृहस्थ, वानप्रस्थ र सन्यासको आधार पनि नारी नै मानिन्थ्यो। पञ्च-महायज्ञ, श्राद्ध, बलि, हविष्य आदिको आधार पनि नारी नै थिए। नारीलाई ‘श्री’ र ‘लक्ष्मी’ भनिएको छ जो घरमा सुख र समृद्धि सिर्जना गर्थे।

ऋग्वेदमा नारी पुरुषभन्दा कम वा पुरुषको नियन्त्रणमा भएको कुनै उल्लेख छैन। ऋग्वेदकालमा नारीले ‘पर्दा’ गर्नुपर्ने भन्ने पनि उल्लेख छैन, स्वतन्त्र बाहिर जान सक्थे। यहाँसम्म, पुरुषलाई नारीको बराबरी देखाइएको छ। यो समयसम्ममा पुरुष पनि नारीसँगै यज्ञ, सभा, समिति र गोष्ठीमा सम्मिलित हुन्थे।

ऋग्वेदकालमा नारी स्वतन्त्रपूर्वक शिक्षा ग्रहण गर्न सक्थे। सभा-गोष्ठीमा महिला ऋग्वेदका ऋचा वाचन गर्थे। ऋग्वेदमा कतिपय विदुषी नारीले ऋचाको प्रणयन गरे भनेर उल्लेख छ। ऋग्वेदमा योगदान गर्ने करिब २० महिलाको नाम उल्लेख छः रोमाशा, अपाला, उर्वषी, विश्वधारा, सिकिता, निबाबरी, घोषा, लोपामुदा आदि।

ऋग्वेदकालमा छोरासरह छोरीको पनि विध्यारम्भ गर्नु पहिला उपनयन संस्कार गरिन्थ्यो। छोरी पनि ब्रह्मचर्य पालन गर्दै वेद अध्ययन गर्थे। सध्योवधू र ब्रह्मवादिनी गरी दुई प्रकारका छात्रा हुन्थे। विवाह अघिसम्म मात्र वेद-मन्त्र पढ्ने महिला सध्योवधू भनिन्थे भने बिहे नगरी सम्पूर्ण जीवन वेद शिक्षामा लगाउनेलाई ब्रह्मवादिनी भनिन्थ्यो। ऋषि कुशध्वजकी छोरी वेदवती ब्रह्मवादिनी थिइन्। त्यस युगमा सह-शिक्षा प्रचलन थियो।

बाल्मिकी आश्रममा आत्रेयी र लव-कुशले साथ-साथ अध्ययन गरेका थिए। अनेक स्त्रीहरू शिक्षिका बनेर अध्यापन गराउँथे, उनीहरूलाई उपाध्याया भनिन्थ्यो।

यस कालसम्म पनि पुरुष एक्लैले कुनै धर्म-अनुष्ठान गर्न सम्भव मानिँदैनथ्यो। त्यसैले गृहस्थ जीवनको सुरूआत विवाहपछि मात्र सुरू हुन्थ्यो। त्यसैले पत्नीलाई ‘धर्म पत्नी’ वा ‘सह-धर्मिणी’ भनिन्थ्यो।

ऋग्वेदकालमा सम्पत्तिको हक कहीँकहीँ बराबर भने पनि छोरा नभए मात्र छोरी उत्तराधिकारी हुने कुरा सुरू भइसकेको थियो।

ऋग्वेदसहित चारै वेदमा कुनै नारी साम्राज्ञी वा राष्ट्र प्रमुख भएको उल्लेख छैन। राजनैतिक अधिकार नारीले ऋग्वेद सुरू हुँदाहुँदै गुमाइसकेका थिए।

उत्तरवैदिक काल (ईपू १५०० देखि १०००)

अथर्ववेदमा छोरी जन्म भए खिन्नता प्रकट गरेको पाइन्छ। एतरेय ब्राह्मणले छोरीलाई ‘कृपण’ शब्द प्रयोग गरेका छन्। यसकालमा छोरीको जन्ममा प्रसन्नता नदेखाए पनि उसको पालन-पोषण र शिक्षामा उपेक्षा गरिँदैनथ्यो। नारीलाई अझै पनि सामाजिक व्यवस्थाको आदरणीय अंग मानिन्थ्यो।

पितृसत्ताको विकास र विस्तारसँगै ‘प्रकृति’का साथै ‘पुरुष’ को पनि उपासना गर्ने प्रचलन सुरू भयो। देवीका साथै ‘देव’हरूका मूर्ति पनि पूजा हुन थाले। पितृसत्ता दह्रोसँग स्थापित भएसँगै ‘देव’हरू प्रमुख हुन थाले र ‘देवी’हरूलाई यी देवताका ‘पत्नी-देवी’ का रूपमा राखेर कथाहरू रचिन थालियो।

रामायण-महाभारत काल (ईपू ८०० देखि ६००)

महाभारतको आदिपर्वमा एउटा कथा छ। कथाअनुसार एकदिन राजा पाण्डु शिकार खेल्न जान्छन्। जंगलमा टाढाबाट एक हरिण देख्छन्। धनु-वाण चलाउँछन्। तर त्यो हरिण एक ऋषि रहेछन् जो आफ्नी पत्नीसँग मैथुनरत थिए।

ऋषि मर्दै गर्दा पाण्डुलाई श्राप दिन्छन्- तिमी पनि मजस्तै गरी मैथुनरत हुँदा मर्नेछौ।

यो श्रापको भयले पाण्डु आफ्नो राज्य आफ्नो भाइ धृतराष्ट्रलाई सुम्पिएर पत्नीद्वय कुन्ती र माद्रीलाई साथ लिई जंगल प्रस्थान गर्छन्। संन्यासी जीवन बाँच्न थाल्छन्। पाण्डु आफ्ना कुनै सन्तान भएनन् भनेर सधैं दुःखी हुन्छन्। उनी कुन्तीलाई कुनै ऋषिसँग समागम गरेर सन्तान उत्पन्न गर्न उचित हुन्छ भनेर सम्झाउन थाल्छन्। कुन्ती परपुरुषसँग समागम चाहँदिनन्।

तब पाण्डुले यो कथा सुनाउँछन्- प्राचीनकालमा स्त्रीहरू स्वतन्त्र थिए। उनीहरू जोसँग चाहे समागम गर्न सक्थे। ऋतुकालमा मात्र पत्नी केवल पतिसँग समागम गर्थे। यही धर्म थियो, जो नारीहरूको पक्षमा थियो र सबै समाज यसको पालना गर्थ्यो। तर यो नियम बदलिएको छ।

गौतम ऋषिका वंशज र उद्दालक-आरुणिका पुत्र श्वेतकेतुको कथा मूलत: उपनिषदहरूमा पाइन्छ। उनी एक तत्वज्ञानी आचार्य थिए। पाञ्चाल देशका निवासी श्वेतकेतुको उपस्थिति रामायणकालका राजा जनकको सभामा पनि थियो। अद्वैत वेदान्तको महावाक्य ‘तत्वमसि’ को वाचन उनका पिताले गरेका थिए। ऋषि अष्टावक्रको भाञ्जा श्वेतकेतुको विवाह देवल ऋषिकी छोरी सुवर्चलासँग भएको थियो।

एकपटक श्वेतकेतु आफ्ना मातापितासँगै बसिरहेका थिए। तब एक परिव्राजक आयो र श्वेतकेतुकी आमाको हात समातेर भन्यो, ‘हिँड जाम्।’

आफ्नी आमालाई यसरी गएको देखेर श्वेतकेतु निकै क्रोधित भए र सोधे, ‘वास्तवमा मेरो पिता को हो?’

उसका पिताले उसलाई सम्झाए, ‘नियमअनुसार स्त्रीहरू स्वतन्त्र छन्। उनीहरूले चाहेकासँग समागम गर्न सक्छन्।’

पछि यिनै श्वेतकेतुले ‘स्त्रीहरू पतिप्रति बफादार हुनुपर्छ। परपुरुषसँग समागम गर्नु भनेको भ्रूणहत्या जत्तिकै पाप हुनेछ’ भन्ने नियम बनाए।

रामायणको रचनाकालसम्म पनि नारीबिना यज्ञ हुन सक्दैनथ्यो। रामले अश्वमेघ यज्ञ गर्दा, सीता नहुँदा, सीताको स्वर्ण प्रतिमा राख्नुपरेको थियो। रामायणमा सिता रामको पछिपछि वनवास जान्छिन् र महाभारतमा द्रौपदी पनि पाण्डवका साथ वनवास जान्छिन्। यसले नारीले हमेशा पुरुषको साथ दिनुपर्छ भन्ने परम्परा स्थापित गरेको छ। समाजले कुरा काट्यो भनेर गर्भवती सीतालाई राज्य त्याग्न लगाइन्छ। उता द्रौपदीलाई वस्तु वा सम्पत्तिजस्तो व्यवहार गर्दै जुवामा थापिन्छ र राजसभामै चिरहरण गरिन्छ।

रामायणमा सती शब्द प्रयोग भएको छ तर पतिको मृत्युमा नारी सती जानुपर्ने अनिवार्यता थिएन। राजा दशरथको मृत्युमा कोही रानी सती गएका थिएनन्। (आदिवासी) समुदायका राजा बालीको मृत्युपछि उनकी पत्नी ताराले देवर सुग्रिवसँग विवाह गरिन्। असूर जातका रावण मरेपछि मन्दोदरीले पनि देवर विभिषणसँग विवाह गरिन्। तर रावणका छोरा मेघनाथ मरेपछि पत्नी सुलोचना सती गइन्। माहाभारतमा पनि पाण्डु मरेपछि कान्छी रानी माद्री सती गइन्।

त्यस्तै श्रीकृष्णका पिता वसुदेवको चितामा उनका चारै रानी, देवकी, भद्रा, रोहिणी र मन्दिरा सती गएका थिए। त्यस्तै श्रीकृष्णको मृत्युको समाचार पाएपछि उनकी आठ रानीमध्ये पाँच, रुक्मिणी, गान्धारी, सह्या, हेमावती तथा जाम्बवतीले श्रीकृष्णको शवबिनै चितारोहण गरेका थिए। (यो सायद सती देवीको समयको कुरा हो)।

यसरी कालीबाट भद्रकाली अनि सतीदेवी हुँदै यस अवस्थासम्म आइपुग्दा नारीजाति स्वयं आफ्नो यौनिकता, नैतिकता मात्र होइन, अस्तित्व पनि पतिसँग अभिन्न मानेर हेर्न थालिसकेका हुन्छन्। पति मरेपछि जीवनको मूल्य केही नरहने मान्यता महिलाहरूमा हुर्किन थालिसकेको हुन्छ।

सूत्र र स्मृतिकाल (ईपू ६०० देखि २००)

गृहसूत्र र स्मृतिहरू रचनाकालमा नारीलाई कुनै न कुनै पुरुषको आश्रयमा रहनु अनिवार्य मानिएको छ। छोरीलाई पिताको, पत्नीलाई पतिको र विधवा मातालाई छोराको संरक्षणमा रहनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। स्त्रीसँग भोजन गर्नेवाला पुरुषलाई गर्हित (अपवित्र, निन्दनीय) आचरण गर्ने भनेर हेय दृष्टिले हेरिन्छ। अप्रतिवादिनी (प्रतिवाद नगर्ने, चुपचाप सुन्ने) महिलाको प्रशंसा गरिएको छ। (यो सायद पार्वतीको समयको कुरा हो।)

मनुस्मृतिमा कन्याको आचार्य नै उनका पति, विवाह नै उपनयन र पति सेवा नै आश्रम र गृहस्थ सेवा नै उसको दैनिक धर्मकार्य भनेर महिलाको शिक्षा, धर्म, अर्थ, काम र मोक्ष सबै हरण गरिएको छ। मनुस्मृतिमा अति काली, कैलो वर्णवाली, पाण्डुवर्णी, नित्य रोगिनी, कैलो आँखावाली, अपवित्र, दुष्ट स्वभाववाली, कटुभाषिणी, जुँगा आएकी, पुरुषसमान आकार भएकी (ठूलो ज्यान भएकी), गोलो आँखा भएकी, तिघ्रामा रौं भएकी, हाँस्दा गालामा डिम्पल आउने, दाँत उछिट्टिएकी महिलालाई विवाह गर्नबाट वर्जित गरिएको छ।

सूत्रकालमा छोरा नभए पनि छोरीलाई उत्तराधिकारी स्वीकार गरिएको छैन। पुत्र नभए सम्पत्ति धार्मिक कार्यमा लगाउनु तर पुत्रीलाई उत्तराधिकार नदिनू भनेर आपस्तंव ऋषिले व्यवस्था गरे।

पितृसत्ताको कानुन-विधान कालः करिब २५००-२००० वर्ष पहिला

मातृसत्ताको सर्वोच्च चेतना (मातृशक्ति काली) लाई सफलतापूर्वक नियन्त्रण गरेर भद्रकाली हुँदै पार्वती बनाइसकेपछि (आधुनिक जमानामा कानुन-विधान बनाएर राज्यलाई नियन्त्रण गरेजस्तै), पितृसत्तालाई संस्थागत ‘धर्म शास्त्र’, ‘मनुस्मृति’ लगायत ‘कानुन-विधान’ बनाएर लागू गरिएको छ। (सायद गौरीको समयको कुरा)।

प्रमाण-स्वरूप महिलाहरूको सम्बन्धमा, मनुस्मृतिमा लेखिएका केही विधानका भावानुवाद यस्तो छ:

स्वभाव एष नारीणां नराणामिहदूषणम, अतोर्थान्न प्रमाद्यन्ति, प्रमदासु विपश्चित:
अविद्वामसमलं लोके, विद्वामसमापि वा पुनः, प्रमदा द्युतपथं नेतुं काम क्रोध वाशानुगम
मात्रस्वस्त्रदुहित्रा वा न विविक्तसनो भवेत्, बलवान इन्द्रीय ग्रामो विध्दांसमपि कर्षति !

अर्थात्, पुरुषहरूलाई आफ्नो जालमा फसाउनु स्त्रीहरूको स्वभाव नै हो। त्यसकारण बुद्धिमान पुरुष स्त्रीका साथ हुँदा चौकन्ना रहन्छन्। किनकी पुरुषवर्गको ‘काम-क्रोधको वशमा (छिट्टै) फस्ने स्वाभाविक दुर्बलता’ लाई भड्काएर स्त्रीहरू मूर्खलाई मात्र होइन, विद्वान पुरुषलाई समेत विचलित गर्न सक्छन्। पुरुषले आफ्नै माता, बहिनी र छोरीसँग पनि एकान्तमा साथै रहनु हुँदैन। किनकी इन्द्रीयहरूको आकर्षण निकै तीव्र हुन्छ र विद्वान पनि यसबाट बच्न सक्दैन।

अर्को विधानको भावानुवाद यस्तो छ-

‘स्त्रीहरू न पुरुषको रूपलाई विचार गर्छन्, न उसको आयुलाई परवाह गर्छन्। सुरूप होस् वा कुरूप, जस्तो सुकै पुरुष मिले पनि उसको साथ भोगरत हुन्छन्। सदा पुरुष-संगमको इच्छा राख्नेवाली, चञ्चल चित्त तथा स्वभावैले निष्ठुर हुनुका कारण जति प्रयत्न गरेर राखे पनि स्त्रीहरू पतिप्रति निष्ठावान् हुँदैनन्। यो दूर्गुण स्त्रीमा सृष्टिको आदिकालदेखि नै छ। अत: पुरुषले कठोर यत्नले (स्त्रीको) रक्षा गर्नुपर्छ। सृष्टिकर्ताले नारीको रचना गर्ने समयमै उसमा आफ्नो विछौना, आसन, आभूषणप्रति मोह तथा काम, क्रोध, बेइमानी, द्वेषभाव र चरित्रहीनता जस्ता दूर्गुण कोची कोची भरिदिएका छन्।’

मनुस्मृतिमा यसरी महिलाको ‘चेतना र चरित्र’ प्रष्ट पारेर समाजमा महिलाको स्थान, इज्जत र दर्जा देखाइएको छ। यो स्थितिमा आइसक्दा मातृसत्ता राजनैतिक र सामाजिक रूपमा मृत भइसकेको छ। मनुस्मृतिकै मार्फत् ‘परिवारभित्र पनि महिलालाई कसरी नियन्त्रण गर्ने’ भन्ने थप विधान लेखिएका छन्। यसले महिलाको स्वतन्त्रता पूर्ण रूपमा बन्देज गरिएको छ।

भावानुवाद गरिएको विधान- ‘पुरुषहरूले आफ्नो घरका सबै महिलालाई चौबीसै घन्टा नियन्त्रणमा राख्नुपर्छ र विषयासक्त स्त्रीलाई त विशेष रूपमा वसमा राख्नुपर्छ। बाल्यकालमा स्त्रीको रक्षा पिताले गर्छन्, यौवनकालमा पतिले र वृद्धावस्थामा पुत्रले। स्त्री कहिले पनि स्वतन्त्रताको अधिकारिणी होइन। स्त्रीहरूको चालढालमा अलिकति पनि विकार आयो भने त्यसको निराकरण गर्नुपर्छ। किनकी परवाह नगरी स्वतन्त्र छोड्दा स्त्री दुवै कुल (पति र पिता) का लागि दुखदायी सिद्ध हुन सक्छन्! सबै वर्ण (जात) का पुरुषले यसलाई अपनो परम धर्म सम्झिनुपर्छ। दुर्बलभन्दा दुर्बल पतिले पनि आफ्नी स्त्रीको प्रयत्नपूर्वक रक्षा गर्नुपर्छ।’

अर्को वाक्यांशको भावानुवाद- ‘पतिले त्यागे पनि वा कुनै अर्को पुरुषको हातमा बेचे पनि कुनै स्त्री कुनै अर्को पुरुषको पत्नी भनिने छैन। उसको विवाहित पतिको उमाथि आजन्म अधिकार बनिरहन्छ।’

कानुन-विधान बनाएरै महिलाको सम्पत्तिको र शिक्षाको अधिकार पनि खोसिएको छ।

अमन्त्रिका तू कार्येयं स्त्रीणां भावृदशेषत:, संस्कारार्थ शरीरस्य यथाकालं यथा क्रमम्।

अर्थात्, निर्धारित कालक्रमअनुसार स्त्रीहरूको जुन-जुन संस्कार-कर्म गरिन्छ, त्यसमा वेद-मन्त्र पाठ नगरियोस्।

हिन्दु संस्कृतिमा यज्ञकर्म नै आत्मा मानिएको छ। तर पितृसत्त्ताले स्त्रीहरूलाई धर्म-कार्यबाट पनि बञ्चित गरेको छ।

न वै कन्या न युवतिर्नाल्प विद्धो बा बालिश:, होता स्यादग्निहोत्रस्य नर्तोनासंस्कृतस्तथा!
नरके हि पतन्त्येते जुह्वतः स च यस्य तत, तस्माद्वैता न कुशलो होता स्याद्वेदपरागः

अर्थात्, कन्या, युवती, अनपढ, रोगी र संस्काररहित व्यक्तिलाई यज्ञको ‘होता’ (होम हाल्ने पूजारी) नबनाउनू। अन्यथा ‘होता’ र ‘यजमान’ दुवै नरकगामी हुनेछन्।

अर्को वाक्यांशको भावानुवाद- ‘जुन यज्ञमा श्रोत्रीय (राम्रो वेद जानेको) आचार्य छैन, जसमा समस्त गाउँले अध्वर्यु (यज्ञ गर्नेवाला) छन् र जसमा स्त्री र नपुंसक उपस्थित छन्, यस्तो यज्ञलाई अश्लील मानिने छ। ब्राह्मणले यस्तो यज्ञमा भोजन नगर्नू।’

अब स्त्रीका लागि मनुस्मृति विधानले निर्धारित गरेको ‘जीवन-आदर्श’ को भावानुवाद हेरौं:

‘स्त्रीका पिता वा पिताको सहमतिमा उसका दाइभाइले जो पुरुषसँग उसको विवाह गराइदिन्छन्, जीवनपर्यन्त ती स्त्री ती पुरुषको सेवामा रत रहोस् र पतिको मृत्युपछि पनि पतिको मर्यादा उल्लंघन कहिल्यै नगरोस्। स्त्रीको पति दू:शील, कामी तथा कुनै पनि गुण नभएको भए पनि एक साध्वी (शुशील) स्त्रीले पतिलाई सधैं देवतासमान सेवा र पूजा गर्नुपर्छ। स्त्रीले आफ्नो पतिसाथ नभइकन कुनै पनि यज्ञ, व्रत वा उपवास गर्नु हुँदैन। किनकी उनीहरूलाई आफ्नो पतिको सेवाबाट मात्र स्वर्ग प्राप्त हुन्छ।’

मातृसत्ता यहाँसम्म आइपुग्दा आफ्नो स्वाभिमान सम्पूर्ण खोसिएर पितृसत्ताको दास भइसकेको छ।

पौराणिक काल (ईसं ३०० देखि १२००)

यस्तो सामाजिक प्रणालीलाई थप बलियो बनाउन पितृसत्ताले ‘चार ऋणको सिद्धान्त’ लागू गर्‍योः देवऋण, ऋषिऋण, राजऋण र पितृऋण। यी चार ऋण नतिरेसम्म ‘मुक्ति’ पाइन्न भन्ने धारणा व्यापक बनाइयो।

देवऋणका लागि यज्ञ-अनुष्ठान, पूजा-व्रतको चलन सुरू गराइयो (पुरोहित-पण्डितलाई फाइदा)। ऋषिऋण तिर्न ऋषि, योगी, संन्यासीलाई दान दिनू, उनीहरूसँग शिक्षा, धर्म सिक्नू भनियो (जोगी-गुरुहरूलाई फाइदा)। राजऋण तिर्न राजाको कर तिर्नू, सेनामा भर्ति हुनू भनियो (राजालाई फाइदा)। पितृ ऋण तिर्न विवाह गरी पुत्र नै जन्माउनुपर्ने मान्यता स्थापित गरियो (वर्तमानका सबै पुरुषलाई फाइदा र भविष्यमा पनि पुरुषलाई मात्र फाइदा)। पुत्रले मात्र श्राद्ध गर्न पाउने नियम बनाइयो।

तर पितृसत्ताले, जन्म दिने आमाको, समाजमा सेवा गर्ने समुदायको, खेती किसानी गरेर अन्न उब्जाउने किसानको वा समग्र प्रकृति (हावा, आगो, पानी, माटो, वन जंगल) को ऋणको कुरा गर्नु आवश्यक ठानेन।

पितृसत्ताको मुख्य आधारः विवाह

वैदिककालदेखि सूत्रकालसम्म आठ प्रकारका विवाह प्रणाली प्रचलनमा थिए।

१. ब्रह्म विवाह: दुवै पक्षका परिवारको सहमतिबाट समान वर्गका सुयोग्य वरसँग कन्याको विवाह निश्चित गर्नु।

२. दैव विवाह: कुनै सेवा धार्मिक कार्य वा उद्देश्य हेतु वा मूल्यका रूपमा आफ्नी कन्यालाई कुनै विशेष वरसँग विवाह गरिदिनु।

३. आर्ष विवाह: कन्या-पक्षलाई कन्याको मूल्य दिएर (सामान्यतः गौदान गरेर) विवाह गर्नु।

४. प्रजापत्य विवाह: कन्याको सहमतिबिना उसको विवाह अभिजात्य वर्ग (धनवान् र प्रतिष्ठित) को वरसँग विवाह गरिदिनु।

५. गन्धर्व विवाह: कन्या र वर दुवैले एकअर्कालाई मन पराएर हुने प्रेम विवाह।

६. असुर विवाह: कन्यालाई खरिदारी गरेर (पैसा दिएर) गरिने विवाह।

७.राक्षस विवाह: कन्याको सहमतिबिना अपहरण गरेर जबरजस्ती गरिने विवाह।

८.पैशाच विवाह: कन्याको बलात्कार गर्ने र त्यसै कन्यासँग गरिने विवाह।

पहिलो चार विवाहलाई सम्मान र स्वीकृति थियो तर गन्धर्व विवाहसहित बाँकी चार विवाह निन्दनीय मानिन्थे। पुरुषले बहुविवाह गर्ने कुरा सामान्य थियो खासगरी अभिजात्य परिवारमा।

यस्ता विविध विवाह प्रथा ‘पितृसत्तात्मक सामाजिक प्रणाली’ का आधार हुन्। पितृसत्ता टिकाइ राख्न पुरुषलाई ‘पुत्र-वंश’ आवश्यक हुन्छ। सन्तान उत्पादनका लागि महिला अपरिहार्य हुने भएकाले पितृसत्ताले वैवाहिक संस्था खडा गर्‍यो। यसमा महिलालाई केही स्थान त दियो तर वंशको हक पुरुषमा मात्र सीमित राख्यो। सन्तान आमाको नामबाट परिचित हुने प्रथा खोस्यो। जसरी पनि, जति पटक लगाएर भए पनि, पुत्र नै जन्माउनु पर्ने अनिवार्यता स्थापित गर्‍यो। यदि पुरुष-पुरुषबाट सन्तान, त्यो पनि पुत्र उत्पन्न सम्भव हुँदो हो त, पुरुषले महिलासँग गर्ने यस्ता विवाह-प्रथा सायदै हुन्थे।

पितृसत्ताको गहिराई बुझ्न विवाह कार्यविधिका केही महत्वपूर्ण पाटा छन् जसलाई सुक्ष्म ढंगले हेर्नैपर्छ।

कन्यादान, महिला ‘वस्तु वा सम्पत्ति’ भइसकेका हुन्छन्। पुरुष-पिताले दान दिन्छ र पुरुष-पतिले स्वीकार गर्छ। लडाइँ जीतमा शंख फुक्ने, लालध्वजा फहराउने, सिन्दुरे जात्रा गर्ने प्रचलन हुन्छ। जंगली पशुलाई पाल्तु बनाउन नाकमा नत्थी लगाइन्छ, घाँटीमा दाम्लो र खुट्टामा सिक्री बाँधिन्छ।

विवाह-कर्म पनि शंख फुकेर सुरू हुन्छ। महिलाले कपालमा धागो (ध्वजा स्वरूप), नाकमा नत्थी, घाँटीमा पोते, हातमा चुरा-वाला (दासताको चिह्न), गोडामा पाउजु (वांधाको चिह्न) बाँधेर विवाह-मण्डपमा जान्छन्। कन्यादान हुन्छ। दुलाहाले सिन्दुर लगाइदिन्छन् (आफ्नो विजयको निसानी)। महिला पूर्ण पाल्तु बनाइन्छन्, रुनु सिवाय कुनै उपाय छैन। विवाह दुलहीहरू खुब रुन्छन्। परिचय बदलिन्छ, देश-ठेगाना बदलिन्छ र खोसिन्छ आफ्नो मन र शरीरमाथिको स्वामित्व।

दुलाहा पक्ष खुब खुसी हुन्छन्। हर्षबढाइँ हुन्छ। बाजागाजा, नाचगान हुन्छ र विजय यात्रासहित दुलही लैजान्छन्। सुहाग रातमा नत्थी लगाएर पाल्तु बनाइसकिएकी दुलहीलाई ‘म (दुलाहा) सँग तिमी हमेशा पूर्ण पाल्तु हुनु आवश्यक छैन। खासगरी विछौनामा, थोरै ‘जंगली’ हुन सक्छ्यौ’ भनेझैं दुलाहाले नत्थी उतारिदिन्छन्।

यो सबै कार्मकाण्ड निकै भद्धा र अपमानजनक छ। आजको सामाजिक चेतनाले त यो सहन नसक्नुपर्ने हो।

मातृसत्ताको ‘ब्रेन वास’

पौराणिककालमा धेरै पुराण लेखिएका छन्। पुराना मिथकलाई त्यस युगको पितृसत्ता सुहाउँदो हुनेगरी लेखिएका छन्। जस्तै लिंगपुराणमा कालीलाई शिवकी पत्नी भनिएको छ। नारीको राजनैतिक अधिकार र स्वतन्त्रतामा पुरुषको पूर्ण नियन्त्रणको संकेत!

विष्णु पुराणमा लक्षमीलाई विष्णुकी पत्नीका रूपमा स्थापित गरिएको छ। नारीको आर्थिक अधिकारमा पुरुषको पूर्ण नियन्त्रणको संकेत!

सरस्वतीलाई ब्रह्माकी छोरीका रूपमा चित्रण गरिनुले पुरुष भनेको ज्ञानको क्षेत्रमा महिलाको ‘बाउ’ हो भन्ने सन्देश दिइएको छ। त्यसो त महिलाको शिक्षामाथिको अधिकार हननको सुरूआत उनीहरूलाई वेद पढ्न नदिएदेखि नै सुरू भएको थियो। (सायद हरिहरको समयको कुरा हो यो)

काली भद्रकाली हुँदै, सती, पार्वती र गौरी भइसकिन्। मातृसत्ताको शक्ति र नेतृत्वको विम्ब खतम भइसकेको अवस्थामा पितृसत्ताको अन्तिम चाल अब ‘आम महिलाको भावना-चेतना’मा केन्द्रित हुन्छ। आम महिलाले बिद्रोह त गर्दैनन् भन्ने डरले ‘ब्रेन वास’ गर्न सुरू हुन्छ।

पितृसत्ता स्थापित भइसकेपछि त्यसलाई निरन्तरता दिन र स्थायीत्व प्रदान गर्न आम महिलाको भावना-चेतनालाई ‘ब्रेन वास’ गर्न चरिएका र प्रचलनमा ल्याइएका कथा तथा संस्कारमध्येका अघिल्ला कडी हुन् तीज, श्री स्वस्थानी र श्री सन्तोषीमाता व्रत कथा लगायत। महिलामा पतिप्रति भक्तिभाव उमार्ने, सहनशीलता, पतिव्रता, त्याग, पतिलाई परमेश्वर मान्नुपर्ने जस्ता ग्रन्थ धडाधड लेखिएका छन् पुराणकालमा।

आदिकालमा रक्तबिज राक्षसलाई युद्धमा जित्न नसकेर ब्रह्मा, विष्णु, शिव लगायत सबै देवगणले प्रार्थना गरेर प्रकट भएकी काली कालान्तरमा भद्रकाली, सती हुँदै, पार्वतीका रूपमा रपान्तरण भइसक्दा पति प्राप्तिका लागि प्रार्थना, तपस्या र श्री स्वस्थानी माताको व्रत-पूजा गर्छिन्।

सूवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको छ। चार हातमध्ये पहिलोमा नीलकमल, दोस्रोमा खड्ग, तेस्रोमा ढाल र चौथोमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख छ। यस्ती देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनः मिलन हुन्छ भन्ने विश्वास छ। पति रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ।

सत्ययुगमा हिमालय पर्वतकी छोरी पार्वतीले ‘महादेव पति पाऊँ’ भनी विष्णुको निर्देशनअनुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानी कथामा वर्णन छ। व्रतप्रतिष्ठापछि ‘हे स्वस्थानी माता, हजुरको कृपाले मेरो व्रत पूरा भयो भनी अर्घ्य दिई १०८ प्रसाद मध्येबाट ८/८ वटा प्रसाद आफ्ना श्रीमानलाई दिनू, श्रीमान नभए छोरालाई, छोरा नभए मीतछोरा, मीतछोरा पनि नभए मेरो अमूक कार्य पूरा होस् भनि नदीमा बगाइदिनू’ भनिएको छ।

उता सन्तोषीमाताको कथामा व्रत गरे दुःख दिने सासूससुरा ठीक हुन्छन्, विदेश गएको पति घर फर्किन्छ र पुत्रलाभ पनि हुन्छ भन्ने भावनात्मक कथा रचिएको छ। यहाँ महिलाको उच्च आदर्श भनेको, सबैको पीडा-अन्याय सहनु, पतिको मिलनका लागि व्रत वस्नु, पति र पुत्र प्राप्ति नै जीवनका लक्ष्य हुन भन्न खोजिएको छ।

यी कथामा कालीबाट गौरी हुँदै समग्रमा पितृसत्ता तथा परिवारमा पतिका दास भइसकेका ‘देवी’लाई आदर्शका रूपमा देखाएर, उनीहरूकै अनुशरण गर्न सिकाइएको छ। नारीले जस्तो सुकै अन्याय सहनू, पति वा पुत्रका लागि ज्यान पनि दिन तयार हुनू लगायत कुरालाई निकै भक्तिभाव झल्काउने गरी देखाइएको छ।

मध्य युगः

भारतका थानेश्वर राज्यका राजा हर्षवर्द्धनको समयमा लगभग सबै नारीको शिक्षा अवरुद्ध हुन्छ। काव्य, संगीत, नृत्य, वाद्य, चित्रकला, पाक शास्त्र, शृंगार, केस तथा फूल सजावटजस्ता क्षेत्रमा भने खुब लगाइन्छ।

मध्ययुगताका (ई १२००) विज्ञानेश्वरले टिप्पणी गरेका छन्- घरका कसैलाई नभनी र पछौरा नओढी स्त्री घरबाहिर नजाऊन्। छिट्टो-छिट्टो नहिँडून्। पसले, संन्यासी र वृद्ध वैद्यबाहेक अन्य कुनै पुरुषसँग कुरा नगरून्। आफ्नो नाइटो खुला नराखून्। खुट्टाको गोलीगाँठोसम्म छोप्ने वस्त्र धारण गरून्। मुख नढाकी नहाँसून्। पति र सम्बन्धीको घृणा नगरून्। अन्य धूर्त नारी, वेश्या, अभिशारिणी, संन्यासिनी, भाग्य बताउनेवाली, जादुटुना गर्नेवाली र गुप्तविधि गर्नेवाली दूःशिल स्त्रीको संगत नगरून्। यिनको संगतले नारीको चरित्र भ्रष्ट हुन्छ।

मध्य युगमा जब भारतमा मुस्लिम आक्रमण हुन थाल्यो तब नारीलाई अपहरणबाट ‘बचाउन’ र ‘रक्त शुद्धी’का लागि महिलामाथि थप पावन्दी लगाइयो। मुस्लिम महिलाले बुर्का लगाए, हिन्दुले शीर ढाकेर मात्र घरबाहिर जाने गर्न थाले।

अकबर बादशाहले स्त्रीका बारेमा कठोर शब्द भनेका छन् , ‘यदि कुनै नौजवान स्त्री बाटोमा घुंघटबिना देखिई भने उसलाई वेश्यालयमा लगिदिनू र उसलाई त्यही पेसा गर्न लगाउनू।’

मुसलमान महिला आफ्ना पतिको उपस्थितिमा मात्र अन्य पुरुष-सम्बन्धीसँग कुरा गर्न सक्थिन्। रानी पद्मावती मुस्लिम आक्रमणकारी खिलजीसँग जानुभन्दा ‘पवित्र’ रहन आत्मदाह गर्छिन्। सती प्रथाले व्यापकता पाउँछ। सती प्रथा अब करिब-करिब अनिवार्यजस्तै बनिसकेको हुन्छ। सती देवीको नाममा चलेको सती प्रथा करिब सय वर्षअगाडि सम्म खुबै फैलिएको थियो। ‘सती’ शब्द आजसम्म पनि एउटा ‘पवित्र’ स्त्रीको व्याख्या गर्न प्रयोग हुन्छ।

यसरी महिलाहरूलाई शक्तिका प्रतीक कालीबाट ‘दासी’ बनाउन पितृसत्ताले धेरै ब्रेन वास गरिसकेको छ। उसले बनाएका नियम र चलन जोगाउन उसले खास केही गर्नै पर्दैन, यस्ता परम्परा रक्षा गर्ने ‘सेना’ बनाइसकेको छ। पितृसत्ताका पक्षपोषण गर्ने यस्ता धर्म-ग्रन्थ वा चाडपर्व वा परम्पराको विरोधमा कसैले बोल्यो भने ‘हाम्रो धर्मले महिलालाई देवी मानेको छ’ भन्नेहरू निस्किन्छन्। त्यसैले कुनै बेला कालीको प्रार्थना गर्ने त्रिदेवले अहिले केही गर्नै पर्दैन, कालीबाट गौरी भएकालाई आशीर्वाद दिए पुग्छ, त्यसैले त पितृसत्ता ढुक्क छ!

--

--