बुद्धलाई बुझ्ने कसरी?

Monk's Blog
11 min readJun 6, 2021

बुद्ध पूर्णिमा, यसै दिन माहात्मा बुद्धको जन्म 563 ई.पू. नेपालको लुम्विनी वनमा भएको थियो। बुद्धलाई भगवान बुद्ध भनेर पनि भनिन्छ, भगवान शब्दको बदलिएको अर्थका कारण ‘अनिश्वरवादी’ बुद्धलाई किन भगवान भनिन्छ भनेर शंका उत्पन्न हुन सक्छ। बौद्धकालमा भगवान शब्दको अर्थ ‘श्रृष्टि कर्ता इश्वर’ भन्ने अर्थमा प्रयोग हुदैनथ्यो, पाली भाषामा ‘भग्गो ति रागो भगवा, भग्गो ति दोसो भगवा, भग्गो ति मोहो भगवा’ अर्थात जस्ले राग, द्वेष र मोहलाई भगाउन वा हराउन सक्यो त्यो नै ‘भगवान” भन्ने अर्थमा यो शब्दको प्रयोग हुने गरेको थियो र आज पनि बुद्धलाई ‘भगवान बुद्ध’ भनेर शम्बोधन गरिन्छ भने यहि अर्थमा गरिएको हुन्छ, न कि बुद्धलाई इश्वर मानेर।

’बुद्धको बचपनको नाम सिद्धार्थ थियो, गौतम गोत्र। सिद्धार्थ गौतमका बुबाको नाम शुद्धोधन तथा आमाको महामाया थियो, जो कोलिय वंशकी थीइन्।

गौतम बुद्ध जन्मेको ७ औं दिनमा नै उनकी आमाको स्वर्गवास भयो, उनको पालन पोषण माहामायाकी बहिनी, सुद्धोदनकी कान्छि रानी तथा सिद्धार्थ गौतमकी सानिमा, प्रजापति गौतमीले गरिन् । शिद्धार्थ गौतमको विवाह १६वर्षको उमेरमा यशोधरा नामक राजकुमारी संग भएको थियो। करिव २९ वर्षकोआयुमा वहांको एक छोरा, राहुलको जन्म भयो।

त्यसै बर्ष सिद्धार्थ गौतमले गृह त्याग गर्नु भयो, यस घटनालाई माहाभिनिष्क्रमण भनिन्छ। करिव ६ बर्ष सम्म अनेक प्रकारका कठोर ध्यान तप गरेर पनि बोधि प्राप्त नभए पछि मध्यम मार्ग अपनाउनु भयो। 35 वर्षको उमेरमा भारतको गया(बिहार)को उरुवेला नामक स्थानमा पीपलको रुख मुनि वैशाख पूर्णिमाको रातिमा समाधिस्त अवस्थामा सिद्धार्थ गौतमलाई ज्ञान प्राप्ति भयो, संबोधि जाग्यो । त्यसपछि वहां बुद्ध नामले परिचित हुनु भयो, सबैले बुद्ध भनेर संबोधन गर्न थाले।

धर्म चक्रप्रवर्तन

बुद्धत्व प्राप्ति पछि, करिव ३ महिना पछि, भगवान बुद्धले अपनो प्रथम उपदेश/प्रवचन सारनाथमा ५ भिक्षुहरुलाई दिनु भयो, यसै घटनालाई धर्म चक्रप्रवर्तन भनिन्छ। यी तिनै सहयोगी पंच वर्गिय भिक्षुहरु थिए जस्ले बोधि प्राप्ति अगाडि बुद्धले ‘देह डण्डनवाट सरिर सुकाएर मुक्ति प्राप्त नहुने रहेछ’ भनी मध्यम मार्ग अपनाई भोजन ग्रहण गर्न थाले पछि सिद्धार्थ गौतम पथ भ्रष्ट भए भनि सिद्धार्थ गौतमलाई त्याग गरेका थिए।

बुद्धले ४९ वर्ष सम्म लगातार धर्म शिक्षा दिईरहनु भयो, ऊत्तर भारतको गाउं देखि नगर सम्म जन जनमा धर्मको विजारोपण गर्नु भयो। भिक्षु-भिक्षुणी संग बनाएर उनीहरुलाई गहिरो ध्यान साधना अभ्यास पछि, वहुजन हिताय वहुजन सुखाय, धर्म सेवामा लाग्न प्रेरित गरिरहनु भयो।

माहापरिनिर्वाण

483 ई पु ८० वर्षको उमेरमा भगवान बुद्धको कुशिनारा(उत्तरप्रदेश, भारत)मा अन्तिम स्वाश फेर्नु भयो, बुद्धले माहापरिनिर्वाण लिनु भयो। बुद्धको यस दुःख चक्र संसारवाट संपूर्ण मुक्ति भयो।

यी त भए बुद्धका वारेमा सामान्य चिनारी, तर बुद्धलाई कसरी बुझ्ने त?

भगवान बुद्धका वारेमा पनि केहि चमत्कारिक कथाहरु नजोडिएका होइनन्, जस्तै बुद्द जन्मने वित्तिकै ७ कदम चल्नु भयो र घोषणा गर्नु भयो कि ‘यो संसरमा म सबै भन्दा जेठो, सबै भन्दा श्रेष्ठ, यो मेरो अन्तिम जन्म हो’, जव कि आम बालबालिका बोल्न र हिड्न थुप्रै महिना वा वर्षदिन जति समयलाग्छ। बुद्धको बोधि प्राप्त हुनु अगाडि पनि मार सेनासंग चमत्कारिक लाग्ने जस्तो यूद्ध चलेको कथा छ। बुद्ध ससरिर नै तावतिम्सलोकमा आफ्नी जन्मे दिने आमालाई विपस्यना ध्यान सिकाउन जानु भएको कथा पनि छ। यस्ता अनेकौंचमत्कारिक लाग्ने कथाहरु छन् ‘जतक कथा संग्रहमा पनि’। यी काथाहरु वास्तबमै घटेका थिए बुद्धका जीवनमा या पछि गडिएका हुन् दर्शनशास्त्रीहरुका लागि चिन्तन र वहसको विषय हुन सक्छ। तर यसरी चमत्कारका कथाहरुवाट न बुद्धलाई जान्न सकिन्न र बुद्धका शिक्षालाई नै बुझ्न सकिन्छ। बरु यस्ता कथाहरुले त हामीलाई द्विग भ्रमित बनाउन पनि सक्छन्। बुद्धले आफ्ना भिक्षु भिक्षुणीहरुलाई पनि ‘बौद्ध’ बन्न सिकाउनु भएन, बरु बुद्ध बन्न, अर्हन्त बन्न सिकाउनु भयो। बौद्ध हुनु र बुद्ध बन्नुमा धेरै फरक छ। बुद्धले ‘धम्मी वा धम्मिको’ शब्द प्रयोग गर्नु भएको छ, अर्थात धर्मी या धार्मीक बन। बुद्धले अन्धविश्वासी उपासक या प्रार्थी बन्न सिकाउनु भएन, धर्मका साधक, योगी र तपी (ज्ञानका लागि तप्ने ब्यक्ति), श्रमण (निर्वाण मिक्षका लागि श्रम गर्ने ब्यक्ति) बन भन्नु भयो।

बुद्धलाई चिन्न बुझ्नका लागि बुद्धका ब्यबाहारिक पक्षहरु र बुद्धका मूल शिक्षालाई ध्यान दिनु आवश्यक छ।

बुद्धले मध्यम मार्ग सिकाउनु भयो। भौतिक भोग र सुख विलाशमा रमाउनेले सत्यको खोज गर्नै सक्दैन, किनकी उ भोग र वासनामा नै चुर्लुम्म डुवेको हुन्छ, उसको मनोवल दुर्वल हुन्छ, ध्यान तपस्या गर्न सक्दैन। उसलाई भ्रम हुन्छ कि यो भौतिक सुख स्थाई रहन्छ, आफू पनि संधै सुखि रहन्छु, जो सत्य होइन। तेति वेलाका चार्वाक पन्थिहरु ‘यदा जीवेत सुखं जीवेत, ऋणं कृत्वा, घृतं पिबेत् अर्थात जब सम्म बांच्छौ सुखसंग बांच, उधारो लिएर भए पनि घिउ खाउ’ भन्थे। अर्काथरि पन्थकहरु देह दण्डनमा विश्वास गर्थे र रात दिन सरिरलाई कष्ट दिने, सरिर सुकाउने, भोजन पनि कम कम गर्दै लाने। गर्मिमा पञ्चाग्नि ताप्ने, जाडोमा चिसो पानीमा डुवेर बस्ने। बुद्धले यी दुबै थरि अभ्यासलाई अतिगामी भन्नु भयो, जो निर्वाणका लागि सहि मार्ग होइनन्। बुद्धले मध्यमा मार्ग अपाउनु भयो, न त चरम भोग विलाश, न त देह दण्डन। यौन मिथ्याचार नगर्ने, गित संगित लगायत मनोरञ्जनका साधनको उपभोग नगर्ने, विलाशि घरमा नबस्ने, सामान्य बस्त्र धारण गर्ने, मागेर जे मिल्छ त्यो मात्र खाने, सुखासनमा वसेर ध्यान गर्ने। यो त साधना संबन्धि मध्याम मार्ग भयो। बुद्धले दार्शनिक मान्यतामा पनि मध्यम मार्ग उपनाउनु भएको छ। तेति वेलाका एक थरि पन्थक जस्तै चार्वाक सिद्धांत धारीहरुका लागि त्रिपिटकमा ‘लोकायत’ शब्दको प्रयोग गरिएको छ, जस्को मतलब ‘यस्तो दर्शन प्रणाली जो यस लोकमा मात्र विश्वास गर्छ, परलोकमा विश्वास गर्दैनन, उनीहरुका अनुसार स्वर्ग, नरक वा मुक्ति भन्ने केहि हुंदैन। मृत्यू पछि सबै सकिन्छ, आत्मा भन्ने नै हुंदैन, पुनर्जन्म त हुने कुरै भएन उनीहरुका अनुसार, उत्छेदवादि थिए उनीहरु। यहि मात्र एउटै जीवन हुने भए पछि पाप, पुण्य पनि नहुने भयो, र पाप पुण्यका फल पनि नहुने भए। अनि कसैले कुशल या अकुशल कर्म जे गरे पनि तात्विक फरक के नै पर्छ र यस चार्वाकी सिद्धान्य अनुसार। अनी अर्का थरी पन्थकहरु थिए जो आत्मलाई शाश्वत मान्थे। आत्म अजर (कहिल्यै बुढो नहुने), अमर (कहिल्यै नमर्ने), सत्त-चित-आन्नद स्वरुप छ भन्थे, साश्वतवादी थिए उनीहरु।

बुद्ध आत्माको संपूर्ण उच्छेद मान्नु हुदैनथ्यो, कर्ममा विश्वास गर्नु हुन्थो। कर्म अनुसार, निर्वाण नहुन्जेल सम्म, जन्म मृत्यूको संसारिक चक्रमा घुमीरहनु पर्छ भन्ने मान्यता राख्नु हुन्थो। कर्म अनुसार, सुगति, दुर्गति प्राप्त भैरहन्छ भन्नु हुन्थ्यो। ध्यान भावनाले ब्रम्हलोकहरुमा जन्म हुने, दान पुण्य, सिलपालना जस्ता कर्मले देवलोकहरुमा जन्म हुने, त्यस्तै हत्या हिंसा लगायत पाप कर्मले नरक लगायत अपायमा जानु पर्ने कुरा बौद्ध शात्रहरुमा उल्लेख छ। बुद्ध एउटै सतत् स्थाई ‘म भन्ने आत्मा’ नहुने कुरा गर्नु हुन्छ। जस्लाई हामी ‘म वा आत्मा’ भन्छौं त्यो पनि छण-छण परिवर्तन भईरहने चित्त धारा मात्र हो, जो आफै बदलि रहन्छ। कुनै मान्छेले पुरानो लुगा फुकालेर नया धारण गरे जस्तो, आत्माले नयां सरिर धारणा गर्छ भनेर गितामा भनिएको भन्दा अलग चित्तधारा (आत्मा)पनि बदलिन्छ, जसरी भौतिक-धारा(सरिर) बदलिरहन्छ, भनेर बुद्ध भन्नु हुन्छ। त्यसैले त बुद्धले ‘आत्माको पुनर्जन्म’ भन्दा ‘चित्त-सन्तान’ भन्ने शब्द बडि रुचाउनु भएको छ। सन्तान अर्थात निरन्तरता, बुबा आमाको भौतिक गुण(जिनेटिक क्वालिटिज)ले छोरा छोरिमा निरन्तरता पाउने हुंदा लौकिक भाषामा छोराछोरिलाई सन्तान भनिन्छ। त्यस्तै आफ्नो कर्मअनुसार, मृत्यू क्षणको चित्तवाट नै, नयांजन्म हुंदा, नयां चित्तधारले निरन्तरता पाउने भएकाले पुनर्जन्मकाई चित्त-सन्तान भनिएको छ। उदाहरणका लागि दुधवाट दहि बन्छ, दुध दहि भन्दा अलग हो तर पनि तेहि दुधवाट बनेर आएकाले त्यो दहि त्यो दुधको निरन्तरता पनि हो, दहि दुधको सन्तान पनि हो। जसरी दुधको न त संपूर्ण उच्छेद भएको हुन्छ न त दुध सतत चिर स्थाईनै रहन्छ, बरु बदलिरहन्छ। बुद्धले यसरी चित्तको उच्छेद हुने वा साश्वत हुने दुबै अतिलाई त्यागेर मध्याम धार अंगालनु भइको छ, चित्त-सन्तान जो संपूर्ण उच्छेद पनि हुदैन, सास्वात पनि छैन, वदलिरहन्छ, कर्म अनुसारको गति प्राप्त भईराख्छ।

अनाबश्यक दार्शनिक विवादमा बुद्धको असहभागिताः

भगवान बुद्धसंग दार्शनिक विवादकालागि धेरै थरिका मानिसहरु आउंथे। बुद्ध केहि सवालमा सिधा जवाव दिनु हुन्थ्यो, केहि सवालमा प्रति प्रश्न गरेर जवाव निकाल्नु हुन्थ्यो, केहि प्रश्नमा मौन रहेर। ती मध्ये १० प्रश्नहरुमा बुद्धले हमेशा मौन रहनु भयो।

के लोक (विश्व ब्रमाण्ड)शाश्वत छ?वा के लोक अशाश्वत्व छ?, के लोकको अंत छ?,वा के लोक अनंत छ?
के जीव (आत्म) र शरीर एउटै हो?, के जीव अलग हो र शरीर अलग हो ?
के मृत्यू पछि तथागत (बुद्धलाई तथागत पनि भनिन्छ)विद्यमान रहन्छन्?, के मृत्यू पछि तथागत विद्यमान रहंदैनन्?
के मृत्यू पछि तथागत विद्यमान र अविद्यमान दुबै रहन्छन्? के मृत्यू पछि तथागत विद्यमान र अविद्यमान दुबै रहंदैनन्?

बुद्धले यस्ता प्रश्नलाई अव्याकृत-प्रश्न भन्नु भएको छ किनकि व्याकरण-सम्मत छैनन्, प्रतिक्षिप्त अर्थात उत्तरदिन अश्विकृत गरिएका प्रश्नहरु। यी प्रश्नहरुले जीवनमा कुनै प्रकारले फाइदा पनि ल्याउंदैनन्, न त आध्यातमिक उन्नति नै हुन्छ। उक्त प्रश्नहरुको पक्ष या विपक्षमा, दुबै तर्फवाट, तर्क जुटाउन सकिन्छ। तर्क द्वारा सत्य वाअसत्य सिद्ध गर्न सकिन्छ तर ठोस प्रमाण दिन सकिन्न। यस्ता चिन्तन र विवादले मनलाई अल्झाई मात्र राख्छन्। बुद्धका अनुसार परमार्थिक दृष्टिले व्यर्थ छन् यी सवालहरु।

दैविक चमत्कारलाई निरुत्साहन

बुद्धकालको एक घटनाः

एक दिन राजगृहको एक ‘श्रेष्ठी’ (प्रतिष्ठित व्यवसायी या महाजन)ले चन्दनरुख को ठूलो मुडा फेला पारे। उनको मनमा विचार आयोः ‘म यस चन्दन मुडावाट किन एउटा पात्र (भांडो) नवनाऊं? यसको धुलो र टुक्राटाक्रि मेरो काम आउने छ, र पात्र कुनै भिक्षु या सन्यासिलाई दिन दिनेछु।’ उसले सिकर्मिलाई भनेर चन्दनको काठको पात्र बनाए, त्यसलाई कुनै टोकरिमा राखेर अग्लो वांसको खम्बामा बांधीदिए र भनेः ‘जो कुनै श्रमण, ब्राम्हण, अर्हन्त (संपूर्ण क्लेश क्षय भई मुक्त भएको ब्यक्ति)या ऋिद्धिमान् (दैविक शक्ति भएको)भए यो दान दिइएको पात्र झिकेर लैजानु।’

अनेक भिक्षु र सन्यासिहरु ‘श्रेष्ठी’काहां गएर भनेः ‘गृहपति म अर्हन्त हुं, ऋिद्दिमान् पनि हुं, मलाई यो पात्र देऊ।’ श्रेष्ठीले भनेः ‘यदि अर्हन्त र ऋिद्दिमान् भए, पात्र त दिसकेकै हो, झिकेर लैजानु।’ त्यसै समय बौद्ध भिक्षुहरु मोग्गल्लान र पिंडोल भारद्वाज पनि भिक्षाटनका लागि राजगृहमा जांदै गर्दा, त्यहि ठांउमा पुगे। पिंडोल भारद्वाज, जो अर्हन्त थिए, ऋिद्दिमान् पनि थिए, आकासमा उडेर, राजगृह नगरलाई तिन चक्कर लगाई त्यो पात्र बांसको खम्बावाट झिकेर लिए। भिक्षाटन सकेर दुबै भिक्षु विहारमा फर्के। यो कुरा नगर भरि फैलियो, नगरबासी हल्ला खल्ला गर्दै पिंडाल भारद्वाजको पछि पछि लागेर विहार सम्म आए। त्यो हल्ला खल्ला भगवान बुद्धले सुन्नु भयो र आन्नदलाई सोध्नु भयो। पिंडोल भारद्वाजले चमत्कार देखाएका कुरा जानकारी भए पछि बुद्धले भिक्षुसंघको बैठक बोलाउनु भयो र पिंडाल भारद्वाजलाई फटकार लागउंदै भिक्षुहरुलाई भन्नु भयोः ‘भारद्वाज यो उत्तर मनुस्य धर्म (मानिसको शक्ति भन्दा परको कुरा) र ऋिद्दि-प्रतिहार्य (चमत्कारिक दिब्य शक्ति)प्रदर्शनी श्रमणहरुका लागि अयोग्य, अविधेय(अकारिणिय), र प्रतिकूल छ। कुनै पनि भिक्षु-भिक्षुनीले यस्ता चमत्कार नदेखाउन निर्देशन दिनु भयो र कसेले देखाएमा ‘दुष्कृत्य’ को आपत्ति लाग्ने गरी नियम पनि थपिदिनु भयो ।

यसरी बुद्ध भगवानले चमत्कारिक ऋिद्दिसिद्धिलाई निरुत्साहित गर्नु भयो। चमत्कारले चेलाहरु एकट्ठा गर्न र जनतालाई मुर्ख बनाउन त सकिन्छ तर चमत्कारले न आफ्नो न अरुको, कसैको पनु मुक्ति संभव हुंदैन। त्यसैले बुद्धले यस्ताकुरामा ध्यान नदिई चित्तको क्लेश क्षय गर्न र निर्वाणका लागि सिल, समाधि र प्रज्ञा को अभ्यास गर्न बढि ध्यान दिन भन्नु भयो।

बुद्धले आफूलाई ईश्वर, वा इश्वरको प्रतिनिधी, इश्वरको अवतार या इश्वरको दुत हुं भनेर भन्नु भएन, भन्न पनि लगाउनु भएन। वुद्धले आफू कल्याण मित्र वा गुरु वा मार्ग दर्शक मात्र भएको घोषणा गर्नु भएको छ, ‘म त वाटो देखाउने सम्म मात्र हो, मुक्तिको मार्गमा हिड्नु त तिमीहरुले नै पर्छ’ भन्नु भएको छ।

दुखवाट छुटकाराको उपायनै बुद्धको शिक्षा

सबै प्राणीहरु दुःखवाट आक्रान्त छन् , सबै प्राणी सुख चाहन्छन्, दुःखवाट मुक्ति चाहन्छन्। बुद्धको मुख्य खोज पनि यहि दुःखवाट मुक्तिकालागि भयो। संसारमा दुःख छ, मानिसहरु दुःखि छन्, वास्तवमा सवै प्राणीहरु दुःखि छन्, यो कुरा सबैलाई जानकारी र दिनानुदिन अनुभव पनि भएकै कुरा हो। बुद्धले दुःखलाई यसरी उपरि-उपरि हिसाबले मात्र स्विकार गरेर बस्नु भएन, वहांले दुःखको कारण सम्म पुग्नु भयो, दुःखवाट मुक्ति पाउन सक्ने कुराको साक्षात अनुभव गर्नु भयो र दुःख मुक्तिका उपाय पनि जनमानसमा उजागर गर्नु भयो, यो नैअष्ठाङ्गिक मर्गका नामले प्रचलित छ। यस आठ अंगमाः सिल (सम्यक वचन, सम्यक कर्म, सम्यक आजिविका), समाधी (सम्यक (मनको)ब्यायाम, सम्यक सति (जागरुकता), सम्यक एकाग्रता), प्रज्ञा (सम्यक दृष्टि, सम्यक संकल्प) समावेश छन्।

बास्तबमा बुद्धले सिकाउनु भएको कुरा पनि यि तिन मात्रै हुन्, सिलः आफ्नो वाचा र कर्मा द्वारा कसैको पनि कुभलो नगर्नु, समाधिःअकुशल र चन्चल मनलाई बसमा राखी कुशलतामा लगाउनु, प्रज्ञाः वास्तवमा जे भईरहेको छ त्यसलाईनै जान्नु अर्थात यथाभुत ज्ञान दर्शन।

बुद्धले सिलवान बन्न जोड दिनु भएको छ, आफ्नो वचन र कर्मलाई अकुशल हुन नदिनु। बुद्ध भन्नु हुन्छः ‘वचनको धार चाक्कू भन्दा पनि धारिलो हुन्छ, रगत नबगाईकन नै घाउ लगाइदिन्छ’। ‘हजारों ब्यर्थ शब्दहरु बोल्नु भन्दा त एक उचित शब्द बोल्नु वेश, जस्ले तपाईको मनमा शांति भरियोस्’। यसरी बुद्धले गाली गर्नु, कडा वचन, झुटो वचन या व्यर्थ, वचन नबोल भन्नु भएको छ। सार्थक कुरामात्र गर्न सिकाउनु भएको छ। बुद्ध भन्नु हुन्छः ‘यी तिन कुराहरुको चर्चा सबैसंग गर- उदार हृदय, विनम्र वाणी र सेवा तथा करुणा जीवनका तेस्ता तत्वहरु हुन्, जस्वाट मानवता पुनर्जीवित हुन्छ।

बुद्धले हिंसा नगर्न, क्रोध नगर्न, चोरि नगर्न, यौन मित्थाचार नगर्न सिकाउनु भएको छ। बुद्ध भन्नु हुन्छः ‘क्रोधमा रहनु भनेको कुनै अर्को मानिसलाई जलाउने उद्देश्यले आगोको कोइला आफ्नो हातले उठाउनु जस्तै हो, जस्ले सबै भन्दा पहिला आफैलाई जलाउंछ’। बुद्ध अगाडि भन्नु हुन्छ- ‘तपाइलाई क्रोधको सजाय (पछि)मिल्ने होउन, स्वयं क्रोध नै तापईको सजाय हो (तत्क्षण)’।

बुद्ध ठगि धन्दा नगर्न, जिविको पर्जनकालागि अनुचित (अन्य प्राणिको हानी हुने) ब्यबसाय नगर्न सिकाउनु हुन्छ, जस्तै- हातहतियाको ब्यापार, विषको ब्यापार, जांड-रक्सिको ब्यापार या मानवको वेचबिखन या कासइको पेशा। यसरी बुद्धले सिल पालनामा जोड दिनु भएको छ।

दुःखको कारण मनमा निरन्तर उत्पन्न भईरहेने तृष्णा हो, तृष्णा पूर्वका अकुशल कर्म (जस्लाई क्लेश पनि भनिन्छ, किनकी जीवनलाई क्लिष्ट बनाइदिन्छ, त्यसैले यस्ता कर्म-संस्कार नै क्लेश) का कारण उत्पन्न भईरहन्छ। बुद्ध भन्नु हुन्छ- ‘इच्छाहरुको (आप्सेआप) कहिल्यै अंत हुंदैन। तपाइको एक इच्छा पूरा पनि हुन पाएको हुदैन कि नया इच्छा जन्म भै सकेको हुन्छ’। जव सम्म पुराना क्लेशहरुको क्षय हुंदैन र नया कर्म पनि बनाउने क्रम पनि चलिरहन्छ तव सम्म दुःखवाट निर्वाण या मुक्ति मिल्दैन। त्यसैले क्लेशको संपूर्ण क्षयलाई नै निर्वाण भनिएको छ।

बुद्धको शिक्षाको दोस्रो भाग भनेको अकुशल र चन्चल मनलाई बसमा राख्नु र कुशलतामा लगाउनु हो। सम्यक ब्यायाम अन्तरगत चित्त (या मन)मा अकुशलता भए हटाउने र कुशलताले भर्दै लाने निरन्तर अभ्यास अर्थात ब्यायाम नै सम्यक ब्यायाम हो। बुद्ध सम्यक ब्यायाम(अर्थात उचित प्रयास)को महत्वलाई दर्शाउदैं भन्नुहुन्छ- ‘सत्यको मार्गमा मनिसहरुले मात्र दुई गल्ति गर्छन्- पहिलो यो कि ऊ मार्गको आखिर सम्म हिड्दैन; दोस्रो यो कि ऊ (मार्गमा) हिड् सुरुनै गर्दैन’। यसरी बुद्ध हामीहरुलाई सत्यको मार्गमा चल्न र यात्र पुरा गर्न भन्नु हुन्छ, सम्यक ब्यायाम नाछाड्न प्रेरणा दिनुहुन्छ। सम्यक सति र सम्यक एकाग्रता अन्तरगत चित्तको वर्तमान स्थितिको ज्ञात बनाइराख्ने र चित्तलाई एक कुशल निमित्त (विषय)मा एकाग्र बानाइ राख्नु हो। बुद्ध भन्नु हुन्छ- ‍’न अतीतको सम्झनामा अड्किएर वस, न भविष्यको कल्पनामा । मनलाई त बस वर्तमानमा एकाग्र राख।’ ‘हजार युद्ध जीतनु भन्दा त आफूलाई (अर्थात आफ्नै मनलाई)जीत्नु राम्रो। तब यो जीत तिम्रो आफ्नो हुने छ जस्लाई कसैले पनि छिन्न सक्ने छैन’। बुद्ध ध्यानलाई ज्ञानको अपरिहार्य पूर्वशर्त मान्नुहुन्छ- ‘ध्यानवाट ज्ञान प्रकट हुन्छ। ध्यानकोअभाव नै अज्ञानको कारण हो’। ध्यानले नै मनमा शान्ति मिल्ने पनि बताउनु हुन्छ बुद्ध र भन्नु हुन्छः ‘शांति तिम्रो भित्र (अन्तरमानमा) नै छ, बाहिर खोज्नु व्यर्थ हो’।

बुद्धशिक्षाको तेस्रो अंग भनेको प्रज्ञा हो। नाम-रुप, अर्थात मन र पदार्थको हर क्षण निरन्तर भईरहने अन्तरकृयालाई यथाभूत जान्ने कार्यले नै प्रज्ञाको उदय हुन्छ। स्थूल लेखि शुक्षमतम् तह सम्ममा नाम-रुपको यथार्थता भनेको अनित्यता (अर्थात केहि पनि कुनै पनि कुराको नित्य सत्ता नहुनु), अनात्मता (कुनै पनि कुराको भिन्न र नैसर्गिक अस्थित्व नहुनु) नै हो। यथाभूत ज्ञान दर्शनका लागि सम्यक दृष्ठि र सम्यक संकल्पको शिक्षा दिनु हुन्छ बुद्ध। बुद्ध भन्नु हुन्छ- ‘मनिस जस्तो सोच्छ उस्तै बन्छ। मानिस जस्तो अनुभव गर्छ उस्तै चिजहरुलाई आफूतिर आकर्षित गर्छ, र जस्तो कल्पना उस्तै चिजहरुको निर्माण पनि गर्छ।’ त्यसकारण संकल्प सम्यक(राम्रो) हुनु पर्नेमा जोड छ बुद्धको। बुद्धका आष्ठाङ्गिक मार्गका सबै अंगहरु महत्वपूर्ण छन् तर सम्यक दृष्ठि सबै भन्दा महत्ब पूर्ण छ किनकि दृष्ठिनै मिथ्या(गलत) छ भने त मानिस सजिलै भ्रमित हुन सक्छ, सार र असारमा फरक नै गर्न सकेन भने मानिसले कुशल कर्म र अकुशल कर्ममा पनि फरक नदेख्न सक्छ। पापलाई पुण्य र पुण्यलाई पाप मानिरहन सक्छ, जस्तै पशु वली, छुवाछुत, छाउपडि। कर्ममा भन्दा भाग्यमा विश्वाश गर्ने हुन सक्छ। चोरी, हिंसा, भ्रष्टाचार, गालिगलोज गर्न संकोच नमान्मे बन्न सक्छ। दृष्टि सहि भयो भने मात्र के सहि के गलत छुट्टाउन सक्छ र गलत मार्ग छाडेर सहि मार्गमा लाग्ने संभावना रहन्छ मानिसमा। सहि दृष्टिले नै मानिसलाई जिम्मेवार बनाउछ र उसले बुझ्दछ कि- ‘प्रत्येक मनिस आफ्नो सुख र दुःखको स्वयं जिम्मेवार हो।’ र उसलाई सम्यक दृष्टि भए मात्र थाहा हुन्छ कि- ‘ज्ञानको प्राप्ति मात्र आफ्नै प्रयासवाट संभव हुन्छ, पर निर्भरता व्यर्थ छ’ भनेर। नत्र चमतकारी गुरु, पादरि र मुल्लाहहरुको भरमा परेर जीवन ब्यर्थ खेर फाल्छन्, सत्य कहिल्यै प्राप्त हुंदैन, रनभूल्लमा परीरहन्छन् मानिसहरु मिथ्या दृष्टिको परिबन्दमा परेर। बुद्ध भन्नु हुन्छः ‘अज्ञानी मानिस एउटा जोत्ने गोरु समान हो, उसको ज्ञानमा हैन आकारमा मात्र बृद्धि हुन्छ।’

यसरी बुद्ध अन्ध श्रद्धामा परी आफ्नो विवेक नगुमाउन भन्नु हुन्छ। हरेक कुरालाई तर्क र विवेकको कशौटिमा जांच भन्नु हुन्छ। बुद्ध भन्नु हुन्छ- ‘कुनैकुरामा यसकारण विश्वास नगर कि यो कुरा शास्त्रमा लेखिएको छ,यसकारण मात्र पनि विश्वास नगर की मैले (बुद्धले)भनेको छु यो कुरा। केवल तब मात्र विश्वास गर जव तिम्रो तर्क र विवेकले ठिक या उचित ठहर्याउंछ।’ यसरि बुद्ध आफैले सिकाएका कुरालाई पनि तर्र र विवेक लगाएर हेरे पछि यदि उचितलागेमा मात्र स्विकार्न भन्नु हुन्छ, आफ्नै भिक्षु भिक्षुनिहरुलाई पनि बुद्धका कुरामा समेतआंखा चिम्लेर विश्वास नग्रन भन्नु हुन्छ।

बुद्ध कोरा कितावी ज्ञान वा सुनेको ज्ञानलाई पूर्ण ज्ञान मान्नु हुन्न।स्वयं अनुभवमा उतारेको ज्ञाननै आफ्नो ज्ञान हो नत्र सुने र पढेको ज्ञान त अक्सर सकेन्ड ह्यान्ड (अर्काको)या थर्ड ह्याण्ड(अर्काको नि अर्काको) या…..ज्ञान हुन सक्छ जस्को खास लाभ हुदैन जव सम्म जीवनमा उतारिन्न। ‘अनगिन्ति राम्रा कितावहरु पढ, हजारौं राम्रो कुराहरु सुन वा हजारौं राम्रो कुराहरु बोल, के फाउदा जव सम्म ती कुराहरुलाई आफ्नै जीनव लागु गर्दैनौ भने?’

बुद्धपूर्णिमाको सबैमा शुभकामना!

--

--